
-दीपक घिमिरे/ईमेज
रुपन्देही, पुस ११ । केही वर्षअघिसम्म झाडी र बगरका रुपमा रहेको रुपन्देहीको गैडहवा गाउँपालिका ८ अन्तर्गत हसनापुरमा अवस्थित जग्गाको सदुपयोग भएको छ ।
उपयोग नहुँदा त्यत्तिकै बाँझो रहेको सो जग्गामा अहिले व्यवसायिक कृषि र पशुपालन गर्न थालिएपछि हराभरा बनेको हो ।
८ वर्षअघिसम्म रुपन्देहीको गैडहवा गाँउपालिका ८ सनापुरमा अवस्थित जग्गा कतै बगर कतै झाडीले भरिएको थियो ।
उपयोगविहीन जस्तै बनेको सो जग्गामा अहिले भने हराभरा बनाइएको छ । खोलाको छेउका पानी जम्ने ठाउँमा पोखरी खनेर माछापालन गरिएको छ भने अन्य ठाउँमा व्यावसायिक कृृषि खेती र पशुपालन भइरहेको हो ।
बाँझो र बगर जग्गालाई हरियाली र हराभरा बनाउने पहल शुद्धोधन गाँउपालिका ७ का कृषि प्राविधिक नारदमुनी यादवको परिवारले गरेका हुन् ।
उनीहरुले आरम्भ एकीकृत कृषि फर्मको स्थापना गरी स्थानीय सामुदायिक स्कुल र वनको उपयोग नभएको जग्गालाई निकै ठूलो परिश्रम र लगानी खन्याएर हरियालीमा परिणत गरेका छन् ।
यसबाट आम्दानी पनि राम्रै भइरहेको छ । विभिन्न ठाउँको ८४ बिगाह जग्गामा ५ करोड रुपैयाँभन्दा बढी लगानी गरी व्यवसायिक कृषि पेशा सुरु गरेको यादवको भनाइ छ ।
प्रदेश सरकारको अनुदानसमेत रहेको उक्त फर्म अहिले प्रदेशकै ठूलो र नमूना एकीकृत कृषि फार्म बनेको छ । कृषि फार्मले ५ विगाह क्षेत्रफलमा माछापालन, ३५ बिगाहमा गहुँ खेती र भैंसी र बाख्रा चरनका लागि ५ बिगाह जग्गा छुट्याएको छ ।
प्रदेश–५ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ४५ लाख रुपैयाँ अनुदान र फार्मको ५६ लाख गरी एक करोड बढी लगानीमा पशु आहारको टीएमआर ब्लक उत्पादन गरिरहेको फार्मका दुर्गेश यादव बताउँछन् ।
फार्ममा ८ जनाले नियमित र ४ जनाले ज्यालादारी गरी १२ जनाले रोजगारी पाएका छन् । सबै गरेर वार्षिक डेढ करोडको हाराहारीमा आम्दानी हुने गरेको यादव परिवारको भनाइ छ ।
व्यावसायिक कृषिलाई अगाँल्दै आएको यादव परिवारले सरकारी नीति किसानमैत्री नहुँदा दुख झेल्नुपरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्