Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


चिनियाँहरुको ठूलो समूह घर छाडेर रातारात भागेको खुलासा (भिडियोसहित)


0
Shares

गृष्मा राजभण्डारी, सानु माली र विनोद बजगाइँ (इमेज)

काठमाडौं, पुस १० । टुरिस्ट भिसामा नेपाल आइ साइबर अपराधमा संलग्न चिनियाँ नागरिकहरुको ठूलो समूह पक्राउ परेपछि काठमाडौंका विभिन्न घरहरुमा बस्दै आएका चिनियाँ नागरिकहरु घरधनीलाई खबरै नगरी रातारात भागेका छन् ।

चिनियाँहरु रातारात भागेपछि घर भाडामा दिने घरधनीहरु भने अलमलमा परेका छन् ।

गत वर्ष नेपाल राष्ट्र बैंकको युएन प्रोजक्टले भाडामा लिएको चुनदेवीमा रहेको एक घरमा पनि चिनियाँहरु बस्दै आएकोमा गत सोमबार नेपाल प्रहरीको टोलीले विभिन्न स्थानमा छापा मारी अवैधरुपमा बस्दै आएका चिनियाँहरुको समूहलाई नियन्त्रणमा लिएपछि यहाँ बस्दै आएका २० जना चिनियाँ रातारात भागेका हुन् ।

पूरै घर महिनाको एक लाख ३० हजार रुपैयाँ दिनेगरी भाडामा लिएका उनीहरु रातारात भागेको घरधनी सुमेस रिजालको भनाइ छ ।

घर खुलै छाडेर गएका उनीहरुले प्रयोग गर्ने गरेका कोठाहरुको अवस्था पनि लथालिंग छ ।

भाग्नेक्रममा उनीहरुले केही विद्युतीय उपकरणहरु पनि छोडेर गएका छन् । अस्तव्यस्त अनि जताजतै फोहोर छ ।

घरबाट भाग्नेक्रममा उनीहरुले प्रयोग गर्ने गरेका डायरी पनि च्यातेर लगेका छन् ।

काठमाडौंका विभिन्न स्थानमा बस्ने गरेका सबै चिनियाँहरुको खाना भने सोही घरको भान्छामा पकाउने गरेको खुलासा भएको छ ।

त्यतिमात्र होइन, विशालनगरमा रहेको एउटा घरबाट पनि २३ जनाको समूहमा रहेका चिनियाँ नागरिकहरु पनि रातरात भागेका छन् ।

प्रहरी छापाकोबारेमा सूचना चुहेपछि साढे तीन तला पूरै घर महिनाको एक लाख ७० हजारमा घरभाडामा लिएका उनीहरु पनि भागेका हुन् ।

घरधनीलाई थाहा नदिइ उनीहरु फरार भएको घरधनी टेकप्रसाद घिमिरेको दाबी छ । यो घर पनि चुनदेवीकै एजेन्टमार्फत् भाडामा दिइएको हो ।

‘भाडामा’ भनी लेखिएका मनमैजुमा रहेको एउटा घरका दुईओटा सटर पनि मनमैजुका दुईओटा घरबाट पक्राउ परेका चिनियाँहरुले प्रयोग गर्दै आएको पाइएको छ ।

प्रहरीले घरमा छापा मारी सरसामान मुचुल्का गरी लगेतापनि यो सटरमा भने उनीहरुको आँखा परेको छैन ।

अवैध धन्दा गर्दै बसेका चिनियाँहरुलाई घरभाडामा लगाइदिने गरेकी एक युवतीले नै यी दुईओटा सटर पनि भाडामा लिएको पाइएको छ । यी सटरको साँचो पनि तिनै युवतीसँग रहेको सटरधनी राजकुमार थपलियाको भनाइ छ ।

उपत्यकाका थुप्रै स्थानमा चिनियाँहरुले यसरी घर भाडामा लिएर बस्ने र अवैध काम गर्ने गरेकोमा शंका छैन ।

तर, घरधनीहरुले समयमै खबर नगर्दा अधिकांश चिनियाँहरु भाग्न सफल भएको अनुमान गरिएको छ । उनीहरुलाई नियन्त्रणमा लिनु प्रहरीका लागि अर्को चुनौतीको विषय हो ।

भिडियो हेर्नुहोस्