नरेन्द्र मानन्धर
काठमाडौं । अन्य मुलुकमा हेर्ने हो भने राज्यले प्रख्यात स्रष्टा र व्यक्तित्वहरूको जन्मघर, उनीहरूसँग जोडिएका महत्वपूर्ण सामग्रीहरूको संरक्षण गर्दछ । तर, नेपालमा यो पाटोमा कसैको ध्यान पुगेको देखिँदैन ।
काठमाडौंको किलागलमा रहेको स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको ऐतिहासिक कलात्मक जन्मघर पनि संरक्षणको अभावमा जीर्ण बनेको छ । तर, संरक्षणमा कसैको ध्यान पुगेको छैन ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघर पुननिर्माणमा जुटेको सरकारलाई स्वरसम्राट नारायणगोपालको जन्मघर नामेठ हुन लागेको पत्तो पाएको छैन । स्वर सम्राटको जन्मघर मात्र नभइ मौलिक कलात्मक उक्त घर पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छ ।
पुरै घर सुनको गरगहना बनाउने बंगाली कालिगढहरूलाई बहालमा दिइएको छ । बचेको घरको कलात्मक झयाल ढोकाहरू सहित घर नै जीर्णबन्दै छ । झारपात झाँगिएको छ । यस्तो हुदाँ पनि कसैको ध्यान पुग्न सकेको छैन ।
स्थानीय बासिन्दा एवं अभियन्ता आलोकसिद्धी तुलाधर, हरेक दिन सो घर मुनिबाटै आवतजावत गर्दा आफूलाई पीडा महसुस हुने बताउनुहुन्छ । बचेको घरलाई जसरी भए पनि संरक्षण गर्नुपर्नेमा तुलाधरको जोड छ । ‘महान सर्जकको जन्मघर नै यस्तो अवस्था छ भने राज्यले अन्य सर्जकहरूलाई के सम्मान गर्ला र !’ उहाँ आक्रोश पोख्नुहुन्छ ।
किलागल एकीकृत साँस्कृतिक बस्तीका अध्यक्ष नरेन्द्र महर्जन, ऐतिहासिक महत्वको घरको अस्तित्व गुम्न लाग्दा पनि सरकारले बेवास्ता गरेर महान सर्जकप्रति अपमान गरेको बताउनुहुन्छ । महर्जनले घर काठमाडौं महानगर पालिकाले किनेर संग्रहालय बनाउने योजना रहेको बताउनुभयो । किलागललाई नै साँस्कृतिक बस्तीको रूपमा पुनःस्थापना गर्ने र त्यहीअनुरूप गुरुवाचार्यकको जन्म घर पनि संरक्षण गर्ने उहाँको भनाइ छ ।
सर्जकहरूलाई ठूल्ठूला उपाधि दिएर मात्र हुँदैन । उनीहरूको ऐतिहासिक घर, सर सामानको पनि संरक्षण गर्न सक्नुपर्छ । राज्यको काम उहाँहरूको नाम भजाउनुमा मात्र सीमित नहोस् ।
प्रतिक्रिया दिनुहोस्