काठमाडौं, असोज ६ । सत्याग्रही गंगामाया अधिकारीले देशभित्र आफूले न्याय पाउने आशा मारेको भन्दै अन्तर्राष्ट्रिय जगतले न्यायको मुद्दालाई सघाइदिओस् भन्ने अपील गर्नुभएको छ ।
माओवादीले हत्या गरेको १७ वर्षीय छोरा कृष्णप्रसादको न्यायका लागि सरकारको नियन्त्रणमै रहेर आमरण अनशन बसेका बेला मृत्युभएका पति नन्दप्रसाद अधिकारीको सातौं वार्षिकी कार्यक्रममा सत्याग्रही अधिकारीले न्यायका लागि अन्तर्राष्ट्रिय जगतलाई गुहार्नुभएको हो ।
लामो समयदेखि अनशनरत स्थल वीर अस्पताल अगाडि गरिएको कार्यक्रममा गंगामायाले सरकारदेखि न्यायालयसम्मको मिलिभगतमा आफ्ना छोराका हत्यारालाई उन्मुक्ति दिने काम भएकाले अब एक मात्रै आशा अन्तर्राष्ट्रिय जगतसँग रहेको उल्लेख गर्नुभयो ।
मुद्दाको अन्तर्राष्ट्रियकरण गर्नका लागि संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिसमक्ष निवेदन दिएको जानकारी दिँदै गंगामायाले भन्नुभयो, ‘यत्तिका वर्षसम्म न्यायका लागि लडिरहेको अनि बदलामा सरकारी पक्षबाट झूठा आश्वासन तथा ढिलासुस्ती मात्र पाइरहेको अवस्थामा मैले आफूमाथिको यो अन्यायलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने निर्णय लिएकी हुँ ।’
नेपाल सरकारलाई निम्न सिफारिश गर्नका लागि मानवअधिकार समितिसमक्ष आग्रह गरेको भन्दै उहाँले थप्नुभयो, ‘स्वतन्त्र अनुसन्धान टोलीमार्फत मेरो छोराको हत्याको घटनालाई पुनः अनुसन्धान गर्न, विगतमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न, म र मेरो परिवारलाई पुनःस्थापना गर्न र संक्रमणकालीन न्याय प्रक्रियालाई पारदर्शी रुपमा परिवर्तन गर्न ।’
आफूले न्याय नपाउँदासम्म शिक्षण अस्पतालमै रहेको पतिको शवको अन्त्येष्टीसमेत नगर्ने अठोट लिँदै गंगामायाले प्रष्ट गर्नुभयो, ‘छोरा र पति गुमाउनुपर्दाको पीडाले मेरो मुटु भरिएको र यो पीडा कहिले पनि हराउने वा कम हुने छैन । यस पीडासँगै ममा दह्रो अठोट पनि छ । आशाको सानो झिल्कोले मलाई न्यायप्राप्तिका लागि यी थप कदमहरू चाल्न प्रेरित गरेको छ । मेरा पतिको शव शिक्षण अस्पतालको शव गृहको बाकस नम्बर ४ मा अझै पनि छ र कुनै दिन म उहाँको अन्त्येष्टि गर्न सक्छु भन्ने आशा छ । हाम्रो छोराको हत्या गर्ने पीडकलाई अभियोजन गरेर सजायँ दिएको देखेपछि पतिको अन्त्येष्टि गर्ने मेरो आशा हो । त्यो दिन छिट्टै आउनेछ भनी आशा गर्छु ।’
१७ वर्षअघि २०६१ जेठ २४ गते चितवनको रत्ननगरमा रहेको बकुलहर चोकमा अधिकारी दम्पत्तिका १७ वर्षे छोरा कृष्णप्रसादको माओवादीले निर्ममतापूर्वक हत्या गरेको थियो ।
छोराका हत्यारालाई कार्वाही गरी न्याय दिलाउन आमरण अनशनमा रहँदा २०७१ असोज ६ गते ३३४औं दिन गंगामायाका पति सत्याग्रही नन्दप्रसाद अधिकारीको वीर अस्पतालको शैयामा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्