Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


‘बैंकिङ अत्यावश्यक क्षेत्र’, हड्ताल नगर्न अन्तरिम आदेश


0
Shares

काठमाडौं, पुस १० । उच्च अदालत पाटनले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनैपनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनैपनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ–‘बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो । कुनैपनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नू/नगराउनू तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनैपनि बाधा, अवरोध नगर्नू/नगराउनू ।’

सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेको हुँदा वि.सं. २०७६ असोज २७ गते प्रकाशित राजपत्रअनुसार यस्तो अतिआवश्यक सेवामा संलग्न कर्मचारीहरुलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा सन्चालन ऐन, २०१४ विपरीत भएको आदेशमा उल्लेख छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाका तर्फबाट उपेन्द्रबहादुर कार्कीले कर्मचारी संगठन नाडेप लघुवित्तीय संस्थाको विरुद्धमा उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

अदालतले यही पुस १६ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । रासस