१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


सरकारले १ सय ५० वटा डायलासिस मेसिन थप्दै


0
Shares

काठमाडौं, असोज ६ । सरकारले देशभर १ सय ५० वटा हेमोडायलासिस गराउने मेसिन थप गर्ने भएको छ ।

प्रतिनिधिसभाअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिमा बुधबार भएको छलफलमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर गुणराज लोहनीले दुई सय शैयासम्मका अस्पतालका लागि १७ करोड र ५० शैयाका अस्पतालका लागि २५ करोड रकम मेसिन खरिद गर्नका लागि छुट्टाइएको जानकारी दिनुभयो । उहाँले देशभर हाल निजी तथा सरकारीमा गरी ४ सय ९६ वटा मात्र हेमोडायलासिस मेसिनबाट ५ हजार ७ सय ९७ जना विरामीको डायलासिस हुँदा समस्या भएको गुनासो आएका कारण मेसिन थप गर्न लागिएको बताउनुभयो ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मिर्गौला प्रत्यारोपण र डायलासिस सहज ६ महिना भित्रमा गरिसक्ने दावी गर्नुभयो । देशभर ३ जना मात्र नेफ्रोलोजीको दरबन्दी रहेको र तीन हजार नयाँ विरामी थपिने गरेको कारण व्यवस्थापनमा समस्या रहेको बताउनुभयो ।

छलफलमा सांसदहरुले सरकारले मिर्गौला रोगको निःशुल्क डायलासिस गराउने जनाएता पनि विरामीसँग विभिन्न नाममा शुल्क लिने गरेको र सबैतिर मेसिन नहुँदा डायलासिसका लागि लामो समयसम्म पर्खनुपर्ने अवस्था रहेको जनाएका थिए । सासंद खगराज बराल र अञ्जना विसुंखले निजीले अस्पतालले डायलासिसको नाममा दोहोरो पैसा लिने रोक्नु पर्ने र मिर्गौला फेल हुन नदिने रोकथामका उपायहरु अपनाउनु पर्ने भन्दै सरकारले डायलासिसमा पैसा दिएर नसक्ने अवस्थामा आइसकेको टिप्पणी गर्नुभयो ।

छलफलमा बागमती प्रदेशमा सबै भन्दा धेरै २ सय ७० वटा डायलासिस मेसिन रहेको र सबै भन्दा कम कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा ५ वटा डायलासिस मेसिन रहेको जानकारी दिइयो । देशभर सरकारीमा तीन र निजीमा ४ अस्पताल गरी ७ अस्पतालवाट मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।