१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


मन्त्रिपरिषदले गरेको निर्णयमाथि अख्तियारले अनुसन्धान गर्नै पाउँदैन भन्दै गच्छेदारले गरे आफ्नो बचाउ


0
Shares

काठमाडौं, असोज ६ । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले मन्त्रिपरिषदले गरेको निर्णयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान नै गर्न नपाउने भन्दै आफूमाथि लगाइएको मुद्दाको बचाउ गर्नुभएको छ ।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका गच्छेदारले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो राजनीतिक जीवन समाप्त पार्न बालुवाटार ललितानिवास जग्गा प्रकरणमा तानिएको आरोप लगाउनुभएको हो ।

गच्छेदारले भन्नुभयो, ‘मन्त्रिपरिषदको निर्णयमाथि अख्तियारले अनुसन्धान, तहकिकातलगायतका काम गर्नै पाउँदैन । त्यसरी मन्त्रिपरिषले गरेको निर्णयमा मुद्दा लगाउने हो भने त उक्त क्याबिनेटमा रक्षा मन्त्री विद्या भण्डारी, भीम रावल, सुजाता कोइरालाहरु पनि हुनुहुन्थ्यो । कोही दोषी छ भने छानबीन गरोस् । मेरो पनि माग हो तर व्यक्तिविशेषमाथि यसरी मुद्दा चल्ने नै हुँदैन ।’

मुलुकमा प्रधानमन्त्रीय पद्धती रहेको भन्दै गच्छेदारले त्यसको सम्पूर्ण दायित्व प्रधानमन्त्री माथि रहने भन्दै थप्नुभयो, ‘त्यसबेला माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्रीय पद्धति भएकाले सम्पूर्ण उत्तरदायित्व मन्त्रिपरिषद हुन्छ । मन्त्रिपरिषदले गरेको निर्णयमा अख्तियारले प्रवेश नै गर्न सक्दैन । प्रधानमन्त्री वा कुनै मन्त्रीमाथि मुद्दा चलाउने विषय नै होइन ।’

त्यसक्रममा उहाँले, नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नरहेको भन्दै आफूले कुनै समूह वा नेताको पक्षमा वकालत नगर्ने पनि बताउनुभयो । कांग्रेसमा एकता र मेलमिलापका पक्षमा आफू रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

सभापति देउवा र वरिष्ठ नेता पौडेल आफ्नो आदरणीय नेता रहेको, अरु या त समकालीन वा जुनियर नै छन् होलान् भन्दै उहाँले आफू कांग्रेस पक्षमा रहेको र बलियो बनाउने प्रयास रहने उल्लेख गर्नुभयो ।