Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


महायज्ञबाट उठेकोे ८० लाखले बन्यो मन्दिर, अतिथि गृह, खानेपानी, विद्युत र मोटरबाटो


0
Shares

म्याग्दी, पुस १० । स्थानीयले महायज्ञबाट जम्मा भएको ८० लाख रुपैँया पूर्वाधार निर्माणमा खर्च गरेका छन् ।

श्रीमद्भागवत महापुराणमा वर्णित पुलस्त्य र पुलह क्रृषिले तपस्या गरेको म्याग्दीको बेनी नगरपालिका वडा नं ५ मा रहेको पुलहाश्रममा स्थानीयले सरकारी सहयोग विना आफ्नै पहलमा ८० लाख रुपैयाँ खर्चेर पूर्वाधार निर्माण गरेका छन् ।

धार्मिक र पौराणिक रुपमा महत्वपूर्ण स्थानको विकासका लागि सरकारी निकायबाट पहल नभएपछि २०४६ सालदेखि स्थानीयहरु पूर्वाधार निर्माणमा जुटेका थिए ।

अहिलेसम्म दुई पटक महायज्ञ लगाएर पुलहाश्रम क्षेत्रमा ८० लाख रुपैयाँ बराबरको पूर्वाधार निर्माण भएको पुलहाश्रम क्षेत्रविकास समितिका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।

पुलहाश्रममा २०४६ र २०६८ सालमा महायज्ञ लगाई त्यसबाट संकलन भएको रकमले मन्दिर, अतिथि गृह, क्षेत्र विकास समितिको कार्यालय, खानेपानी, विद्युत र मोटरबाटो जस्ता भौतिक पूर्वाधारहरुको निर्माण गरिएको छ ।

यसका साथै हेलिप्याड निर्माण, वनभोज स्थल र मन्दिर वरिपरिको क्षेत्रमा वृक्षरोपण गरी हरियाली बनाइएको छ ।