काठमाडौं पुस १० । आज यो वर्षकै सबैभन्दा चिसो मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान पौने ९ वजे सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकाको न्युनतम तापक्रम ० दशमलब ९ डिग्री सेल्सियसमा झरेको छ ।
हिजो २ दशमलब ९ डिग्री मापन गरिएको तापक्रम आज एकै दिन २ डिग्री सेल्सियसमा ओर्लिएको हो ।
आज दिउसोको अधिकतम तापक्रम भने १६ दशमलब ७ डिग्रीसम्म पुग्ने अनुमान छ । पछिल्लो २४ घण्टाको अवधिमा जुम्लामा सबैभन्दा बढी चिसो भएको छ ।
जुम्लाको न्युनतम तापक्रम माईनस ७ डिग्री सेल्सियसमा झरेको छ । यसैगरी मुस्ताङको जोमसोममा माईनस ३ दशमलब ५ तथा दोलखाको जिरीमा माईनस ३ दशमलब २ डिग्री सेल्सियस मापन गरिएको छ ।
यो अवधिमा अधिकतम तापक्रम भने विराटनगरमा २४ दशमलव ४ तथा दिपायलमा २२ दशमलब ४ डिग्री सेल्सियस मापन गरियो ।
आज देशका पूर्वी र पश्चिमी भेगका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
काठमाडौंको मौसम आज सामान्यतया सफा रहने छ । आज सूर्योदय बिहान ६ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १६ मिनेटमा हुनेछ ।









प्रतिक्रिया दिनुहोस्