कञ्चनपुर, पुस १० । पश्चिमी सीमानाका गड्डाचौकीलाई मानव तस्करहरुले ट्रान्जिट प्वाइन्टका रुपमा प्रयोग गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।
माइती नेपाल कञ्चनपुरले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा गड्डाचौकी नाकालाई तस्करहरुले ट्रान्जिट प्वाइन्टका रुपमा प्रयोग गर्ने गरेको भेटिएको हो ।
विगतका वर्षको तुलनामा पश्चिमी सीमानाकाबाट मानव बेचविखन तथा ओसारपसारका घटनाहरु बढ्दै गएको माइती नेपालले जनाएको छ ।
कार्यालयका अनुसार पछिल्लो तीन वर्षको अवधिमा जोखिममा रहेका ६ सय ५६ जना महिला तथा बालबालिकालाई गड्डाचौकी नाकाबाट भारत जान रोकिएको थियो ।
यस्तै ४४ जना महिला तथा बालबालिकालाई भारतका विभिन्न स्थानबाट उद्दार गरिएको माइती नेपाल कञ्चनपुरले जनाएको छ ।
त्यसै गरि सन् २०१९ मा २ सय ३९ जना महिला तथा बालबालिकालाई गड्डाचौकी नाकामा रोकिएको छ । सन् २०१८ मा २ सय ११ तथा २०१७ मा २ सय ६ जना महिला तथा बालबालिकालाई गड्डाचौकी नाकाबाट फर्काइएको थियो ।
केही वर्ष यता पश्चिमी नाकामा मानव वेचविखनको जोखिममा पर्ने महिला तथा बालबालिकाको संख्या बढ्दै गइरहेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिईन् ।
उनले मानव तस्करीका अधिकांश घटनामा पीडितकै आफन्तको संलग्नता भेटिने गरेको बताउँदै पीडितले उजुरी दिन नमान्दा तस्करसम्म पुग्न नसकिएको बताइन् ।








प्रतिक्रिया दिनुहोस्