-सीता पाण्डे/ईमेज
पाल्पा, पुस १० । निस्दी गाउँपालिका ७ अवस्थित कवुलियती वनमा केराको बगैचा मौलाएको छ । यसअघि खासै उपयोग हुन नसकिरहेको वन अहिले मनै लोभ्याउने किसिमले केराका बगैँचाले ढपप्कै ढाकिएको हो ।
पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेका २७ घरपरिवारको बसोबास छ । सोही क्षेत्रको वनलाई ३ वर्षअघिसम्म गाई चराउनका लागि उपयोग गरिएकामा अहिले केराखेतीले हराभरा बनाइएको हो ।
कतै केरा पसाइरहेको र कतै पाकिरहेको देख्न सकिन्छ । हरियाली केरा बगैँचा वनका चराचुरुङ्गी तथा जीवजन्तु समेत रमाइरहेको देख्न सकिन्छ ।
तराईका फाँटमा जस्तै पहाडी जंगलमा पनि केरा खेती मौलाएको देखेर पुग्ने जोकोहीले आनन्द लिन सक्छ । अहिले ज्यामिरेका स्थानीयको सम्पत्ति त्यहीँ जंगल भएको छ ।
केराखेतीबाट ज्यामिरेवासीले ३ लाख रुपैयाँ कमाइसकेका छन् भने यो वर्ष पनि ५ लाख रुपैयाँ बराबरको केरा विक्री हुने कवुलियती वन समूहका अध्यक्ष रमन बहादुर सारुको भनाइ छ ।
१७ हेक्टर जंगलमा लगाइएका २५ हजार केराका बोटमध्ये अहिले ८ हजारले उत्पादन दिन थालिसकेका छन् । यस बर्ष त्यसकै छेउछाउमा ४ हजार कागतीका विरुवा लगाउने तयारीे छ ।
यसअघि मगर समुदायको बस्ती रहेको ज्यामिरेमा खेती किसानी र पशुपालन बाहेक अर्काे आम्दानीको बाटो थिएन । राम्रो जंगलको रुपमा पनि फैलिन नसकिरहेको अवस्थामा व्यवस्थापन गरेपछि आयआर्जनको गतिलो माध्यम भएको छ ।
गाउँमै आयआर्जन गराउनुका साथै वन जंगलप्रति जनताको अपनत्व जगाउने अभियानका साथ कवुलियती बन कार्यक्रम संचालन गरेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन प्रसाद पौडेल बताउँछन् ।
पाल्पामा १ सय १४ वटा कबुलियती वन कार्यक्रममार्फत टिमुर, तेजपात, अम्रिसो, केरालगायतका खेती गरि विपन्न परिवारलाई राहत मिलेको छ ।
कवुलियती वनमा नमुना केरा खेती गरेका कारण ज्यामिरे कवुलियती वनले यस बर्षको राष्ट्रिय कवुलियती वन पुरस्कार स्वरुप नगद १ लाख रुपैयाँ हात पारेको छ ।




प्रतिक्रिया दिनुहोस्