Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश

देशभर तीन महिने अभियान चलाउने योजना

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

मंगलबार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । बैठकमा अध्यक्ष नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समुह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरूलाई सपथ गराइएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘निर्वाचन आयोगमा बुझाएका १ सय १६ जना बाहेक थप गरिएका केन्द्रीय कमिटी सदस्यहरूलाई सपथ गराएका छौं,’ उहाँले भन्नुभयो, ‘यसपश्चात पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो, प्रतिवेदनमा छलफलका लागि पाँचवटा समूह बनाएका छौं ।’

पार्टीको बैठक बुधबार पनि बस्ने खतिवडाले जानकारी दिनुभयो । बुधबारको बैठकले समसामयिक प्रस्ताव पारित गर्ने, कार्यविभाजन गर्ने उहाँको भनाइ छ । आवधिक कार्ययोजना बनाइ तीन महिने अभियान चलाएर देशभर पार्टी सुदृढिकरण र पार्टीलाई पुर्नजागृत गरिने योजना रहेको उहाँले बताउनुभयो ।