
काठमाडौं, पुस १० । युवतीलाई बलि चढाउन भारत लैजान लागेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीले ६ जनालाई विराटनगर र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो।
उनीहरुलाई तीन दिनको विशेष अप्रेसनपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । काठमाडौंमा एक फेसन हाउस सन्चालन गर्दै आएकी ती युवतीलाई मोडलिङको अफर गर्दै भारत पुर्याउने योजना रहेको प्रहरीको दावी छ।
पीडित युवतीले शंका लागेर प्रहरीलाई उजुरी गरेपछि गिरोह फेला परेको हो। गिरोहले भनेअनुसार युवतीलाई काम गर्न लगाएर प्रहरी पछिपछि लागेको थियो। तर एकपछि अर्को बहाना बनाउँदै सिमा कटाउन खोजेपछि प्रहरीले गिरोहका सदस्यलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीमा पीडित युवतिले दिएको जाहेरीअनुसार गत साता चिनेजानेकै एक महिलाले उनलाई मोडलिङका लागि अफर गरेकी थिइन्। यसअघि ती महिलासँग उनले काम गरिसकेकी थिइन्।
विराटनगरमा हुने कार्यक्रमका लागि प्रस्ताव आएपछि उनले ती महिलालाई भेटौँ न त भनिन् । पाँच युवक लिएर आएकी ती महिलासँगको भेटमा उनको उचाईबारे चासो राखिएको थियो ।
उनिहरुले ६ फिट उचाईको युवती चाहिएको भन्दै उचाई नाप्न थाले। पाँच फिट ११ इन्च उचाई देखिएपछि युवकहरुमध्येका एकले हामीलाई चाहिएकै उचाई भेटियो भन्दै मख्ख देखिए। युवती पनि खुसी भइन्।
त्यसपछि उनिहरु छुट्टिए। त्यसपछि तिनै युवकहरुमध्येका एकले बारम्बार फोन गर्दै प्रोजेक्टबारे कुरा गर्न थाले। एक साताअघि, साँझ ती युवकले फोन गर्दै मासु–रक्सी खान्छौँ कि खान्नौँ ? महिनावारी भएको छ कि छैन ? भनेर सोधे।
युवती अचम्ममा परिन्। मोडलिङ गर्न यी प्रश्नहरुको कुनै सम्बन्ध थिएन। उनलाई त विराटनगरमा मोडलिङ गर्ने भनिएको थियो। युवतीलाई मनाउने प्रयत्न गर्दै ती युवकले भने, ‘नेपाल–भारत बोर्डरतिर गएर पूजा पनि गर्नुपर्छ।
डकुमेन्ट्री पनि बनाउनु छ।’ ती युवकले बहाना बनाउन थालेको युवतीलाई महसुस हुन थाल्यो। अझ पूजा गर्दा भारतीय र कोरियन पनि आउने भनेपछि आफूलाई सुरुमा गरिएको प्रस्ताव र अहिले गरिएको प्रश्नमा कुनै तालमेल देखिनन्।
कुनै गलत काम पो हुन लागेको हो की भन्दै शंका गर्न थालिन्। अनि पुगिन् प्रहरीकहाँ । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्