सूचना प्रविधिमा समान पहुँच : वैश्विक महामारीमा ठूलो चुनौति « Image Khabar


सूचना प्रविधिमा समान पहुँच : वैश्विक महामारीमा ठूलो चुनौति


Border circle
Imagekhabar

हरिविनोद अधिकारी
कुनै क्षेत्रमा, कुनै प्रदेशमा, कुनै फरक भौगोलिक वा प्राकृतिक अवस्था भएका ठाउँमा आउने समस्याले पनि हाम्रो संसारलाई असर पार्छ भने झन विश्वमा नै एउटै झट्कामा पर्न सक्ने प्रभावका बारेमा खासै सोचिएको हुँदो रहेनछ भन्नेकुरा २१औं शताब्दीको पहिलो संक्रमण रोगको उत्पत्तिले देखाएको छ ।

यसपटकको नोभेल विषाणु वा कोरोना भाइरस अर्थात् कोभिड-१९ को विश्वव्यापी सरुवा रोगको व्यापकता र त्यसको संक्रामक प्रसारले साँच्चै वैश्विक भयावह अवस्थाको सृजना गरेको छ र २०१९ को नोभेम्बरदेखिको यो भयावह त्रास अझै कायम छ । कहिले कम भएजस्तो, कहिले संक्रमणले भयावह रुप लिएजस्तो हुँदा छिटै त्यसको विरुद्धमा खोप त आएका छन्, तर त्यसको पनि असमान वितरण र अविश्वस्त परिणामका भयले जति प्रभावी हुनुपर्ने हो, हुन नसकेको स्वास्थ्य परिणामहरुको विश्लेषणले देखाएका छन् ।

आजको २१औं शताब्दीमा सबै समस्याको समाधान तर्कपूर्ण र वैज्ञानिक तरिकाले हुने विश्वास लिइएको थियो तर प्रकृतिमा आउन सक्ने कुनै भयावह क्षणको कुनै समाधान पत्ता लागेको रहेनछ । जुन तरिकाले र प्रक्रियाले कोभिड-१९ दिइएको विषाणुको प्रसार र परिणाम देखिएको छ, त्यसको पनि कुनै लय देखिँदैन र क्रमिक उपाय र समाधान पनि देखिँदैन । प्रयोगशालाबाट तयार भएको खोप समेतले बालकहरूको हित गर्ने खोपको विश्वसनीय स्वरूप तयार गर्न सकिएको छैन र असमान उत्पादन, असमन वितरण र अविश्वनीय परिणामका डरले त्यस्तो परिणाम पनि प्राप्त हुन नसकेको देखिन्छ ।

एउटा देशमा अनेका विपत्ति आउँछन् र राज्यले विपत्तिका सामना गर्नका लागि जहिले पनि तयार हुनुपर्छ भन्ने सैद्धान्तिक धारणा छ तर अनुमान नै नगरिएका असामान्य अवस्थामा विश्व नै गाँजिएको छ । केही त्यस्ता कामहरू हुँदा रहेछन् जसलाई राज्यले जसरी पनि धान्नु नै पर्दोरहेछ किनभने असहज अवस्थामा राज्यका निकायहरूले जसरी पनि आफ्ना जनताको सेवा गर्नुनै पर्छ भन्ने राज्यको कल्याणकारी सिद्धान्तमा पर्छ । अपरिहार्य मानवीय आवश्यकताका लागि राज्य जहिले पनि तयार हुनुपर्छ । एउटा राज्यका लागि आवश्यक पर्दा अरु सक्षम र श्रोत भएका राज्यहरूले निसर्त सहयोग गर्नुपर्छ । यो मानवीय पक्ष पनि हो, राज्यहरूको एकअर्काका लागि अन्तरसम्बन्ध राख्ने कर्तव्य पनि हो ।

यो महामारीमा त्यस्तो कर्तव्य परायणता खासै देखिएन र अझै महामारीको अन्त भएको छैन र कतिपय देशहरू अन्य देशको पहुँचमा समेत पुग्न सकेका छैनन् भन्ने कटु यथार्थ हाम्रा सामु छ । यो बेलामा न त हिंसात्मक आन्तरिक या वाह्य विवाद घटेको छ, न त विश्वका शक्ति देशहरूका बीचको अहम टकरावमा कुनै कमी नै आएको छ ।

सबै आफ्ना आफ्ना डम्फु बजाउनमा मस्त छन् तर गरिब देशहरु यो कोभिड-१९मा झन्-झन् गरिब, जनताको क्रय शक्तिमा अत्यन्तै ह्रास आएको, भुखमरीबाट लाखौँ मानिसहरू आक्रान्त भएका, आन्तरिक हिंसात्मक द्वन्द्वले करोडौं मानिसहरू गन्तव्यहीन यात्रामा आफ्ना देशहरूबाट पलायन भएका समाचारहरु आउँदै छन् । ती अमानवीय कार्यहरू राज्यमा यसरी घटित भएका छन् कि यस्तो अमानवीय काम गर्नका लागि उनीहरू आफ्ना नागरिकमाथि अत्याचार थोपर्नका लागि यस्तो वैश्विक महामारीलाई पर्खेर बसेका जस्तो गरी आवागमनका लागि कुनै सुविधा नभएको बेलामा देश छोड्न बाध्य बनाउन थालेका पाइन्छन् जसको मुख्य उदाहरण अफ्रिकाका देशहरू, अफगानिस्तान र म्यान्मामा देखिएको छ ।

मेरो खास चासोचाहिँ ती विद्यार्थीहरूको शिक्षा ग्रहणका लागि भरपर्दो शैक्षिक वातावरण नभई करिब २ वर्षको अवधि बितेको छ । झन् महामारीको यो आपत्कालीन अवस्थामा नयाँ सञ्चार तथा सूचना प्रविधिको असमान वितरणको पोल झन खुलेको छ । आजको संसारमा सबैभन्दा छरितो माध्यम भनेको सूचना प्रविधिको प्रयोगमार्फत् एकअर्कासँग सम्बन्ध राख्न सकिने त हो, त्यसको पहुँचमा संसारका कति बालबालिका र किशोर , युवा अनि विद्यार्थीहरू छन् त ? यसले हुने र नहुनेको बीचमा खाडल अझ फराकिलो बनाएको देखिन्छ ।

हुन त यो महामारीले शिक्षाका लागि नयाँ-नयाँ बाटोको पाटो खोलेको छ र साक्षात्कारमा मात्र पढाइ सम्भव हुन्छ भन्ने पुरातनपन्थलाई भत्काएको छ र विद्यालय या कलेज नगएर पनि शिक्षा साक्षात्कार तरिकाले पनि लिन दिन सकिन्छ भन्ने प्रमाण त प्रस्तुत गरेको छ तर पहुँचकाे अवस्था के छ ?

कुनै पनि देशमा ती बालबालिकाहरूको हितमा तयारी अवस्थामा बस्नुपर्छ, चाहे उनीहरूको स्वास्थ्यको बारेमा होस्, खाना खाजाको बारेमा होस्, पढाइको बारेमा होस्, या सुरक्षित आवासको बारेमा होस् । जस्तोसुकै अवस्थामा पनि उनीहरूको उमेर अनुसारको सिकाइका लागि राज्य तयार भएर बस्नुपर्छ । जसरी खाना बेलैमा दिइन्छ, उनीहरूका लागि आवश्यक शिक्षाको व्यवस्था पनि गर्नैपर्छ । यस्तो बेलामा परीक्षा जस्तो कृत्रिम विषयमा सरकारहरू अल्झेको पाइयो जुन परीक्षा भनेको यसै पनि सामान्य क्षमता मापन मात्रै हो ।

जब साँच्चै उत्तरदायी नागरिकको रूपमा जीवनमा बच्चा उत्रन्छ, उसको लागि हामीले दिएको प्रमाणपत्रभन्दा उसमा निहीत क्षमताले काम गर्छ । त्यसैले जुनसुकै अवस्थाका लागि पनि राज्यले आफूलाई वैकल्पिक उपायहरू लिएर तयारीका साथ बस्नुपर्छ । यसका लागि शिक्षाविद्हरू, मानवशास्त्रीहरू, मनोवैज्ञानिकहरू र समाज रुपान्तरणका अभियन्ताहरू- शिक्षक, कानुनवेत्ता, पत्रकार, वातावरणविद् तथा मानव अधिकारका क्षेत्रमा काम गर्ने अनि बालबच्चाका बारेमा काम गर्नेहरूले त्यसमा आफ्नो आन्तरिक क्षमताको सही प्रयोग गर्नुपर्छ ।

मैले एउटा कथा पढेको थिएँ शिक्षाको उपयोगिताका सम्बन्धमा । कथा यस्तो छ- एउटा वनमा हरिण आफ्ना परिवारका साथ बस्दथ्यो । उसकी बहिनी कुने अर्को वनमा थिइ । आफूले बच्चा पाएपछि दाजुको जिम्मामा छोड्न माइत आइ । राम्रो शिक्षा दीक्षाका लागि अनुरोध गरी । उसले पनि आफ्नो भानिजको जिम्मा लियो र बहिनीलाई भन्यो- तँ ढुक्क भएर जा, तेरो छोरो जीवनका लागि चाहिने शिक्षा लिएर तेरो घरमा आउने छ ।

बहिनी पनि दाजुलाई छोरो सुम्पेर गइ । दाजुले अरू बच्चाहरूसँग भानिजलाई पनि दीक्षा दिइरहेको थियो र भनेको थियो ती बच्चा सावकहरूलाई कि टाढा बाक्ला रुख भएका ठाउँतिर अहिले नजानू है । ती बच्चाहरू एकदिन खेल्दै-खेल्दै अलिपर पर गएछन् जहाँ शिकारीहरूले पासो थापेर बसेका थिए । उसको भान्जो नभन्दै अलि टाढा गएकै बेलामा पासोमा परेछ । अनि ती अरु साथीहरूले उसकी आमालाई दौडेर गएर भनेछन्—तपाईंको छोरो त पासोमा परेको छ, कसरी छुटाउनुहुन्छ, तत्कालै छुटाउनुहोस्, नत्र एकछिन पछि सिकारी आउँछ र मारेर लान्छ ।

ऊ रुँदै कराउँदै दाजु भएको ठाउँमा आई र भन्न थाली- झन त्यस्तो नहोस् भनेर तपाईंकाे जिम्मामा दिएर गएको, आज मैले यो दिन पो देख्नुपर्‍यो नि दाइ ? त्यो दाजु हरिणले बहिनीलाई भन्यो- नकरा धेरै, नरो धेरै भन्न थाल्यो । मानौँ कि उसलाई त्यो कुराले छोएकै छैन । नभन्दै एकछिनपछि त्यो भानिज सावक दौडँदै आयो स्याँ-स्याँ र फ्याँ-फ्याँ गर्दै । सबै छक्क परे कसरी त्यो सिकारीबाट फुत्केर आयो होला किनभने जाल या पासोबाट फुत्कने त कुनै सम्भावना नै थिएन । तर कसरी फुत्कियो होला र ?

त्यही भानिजलाई सोधियो- तिमी कसरी फुत्किएर आयौ ? अनि त्यो भानिज सावकले भन्यो- मामाले मलाई सिकाउनुभएको थियो, यदि कुनै बेलामा पासोमा परियो र सिकारीको हातमा परिने भयो भने सिकारी आउने बेलामा पेट फुलाएर बस्नू , सास पनि रोकेर बस्नू एकछिनका लागि, अनि सिकारीले सम्झन्छ कि यो त डरले नै मरिसकेको रहेछ । अनि त्यो मरेको लास बोक्नुभन्दा वनमा नै दाउरा खोजेर डढाएर मासु पोलेर लान खोज्छ ।

दाउरा खोज्न जानुभन्दा पहिले पासो खोल्छ र भुँडी ढकढक पार्छ । भुँडी फुलेको देखेपछि देखेपछि सिकारी ढुक्क हुन्छ यो हरिणको बच्चो मरेको रहेछ । अनि आगो बाल्न थाल्छ, त्यहीबेलामा टाप ठोक्नु यसरी दौड्नू कि उसले भेट्नै नसकोस् । त्यही दीक्षाले म भाग्न सफल भएँ र अहिले जिउँदै आउन सकेँ । मामा चरिरहेको थियो, अरु बच्चा सावकहरू छक्क परिरहेका थिए र बहिनीले दाजुलाई धन्यवाद दिँदै आफ्नो चरणतिर फर्किई ।

कथा यत्ति हो, यसलाई मैल आफ्नो जीवनमा शिक्षाको उपयोगिताका बारेमा दिने उदाहरण सम्झेको छु । आपत्कालीन अवस्थाका बारेमा हामीले कसरी शिक्षार्थी र शिक्षककाबीचमा, शिक्षक र सरकारका बीचमा, सरकार-शिक्षक-शिक्षार्थीका बीचमा कसरी सञ्चार कायम गर्ने भन्ने विषयमा खासै चासो राखेनौँ । त्यसैले अहिलेको असमानताको खाडल झन्-झन् गहिरो भएको पाइयो । यसमा यसैगरेर ठिक हुन्छ भन्नुभन्दा र यसको उपचारको कुनै उपायको जान्नेभएर सल्लाह दिनुभन्दा उपयुक्त माध्यमको खोजी गर्नु आवश्यक हुन्छ । करिब दुई वर्ष भयो र अझ कति समयसम्म जाला यो महामारी अनि प्रत्यक्ष सम्बन्ध राख्न नसकिने अवस्था ।

यसका लागि सूचना प्रविधि, मानवीय आवश्यकता, नागरिकहरूको आर्थिक क्षमता र पहुँचको सम्भाव्यता सबैको पहिचान गरेर सबैको हितलाई आधार मानि नयाँ-नयाँ उपायहरूको खोजी जरुरी छ, जसले सञ्चारमा आएको अहिलेका युगान्तकारी परिवर्तनको प्रयोग समानस्तरमा सबै बालबालिकाहरू र शिक्षार्थीहरूले गर्न सकुन् ।

प्रतिक्रिया दिनुहोस्