
काठमाडौं, पुस ९ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियान पर्यटन विकासको सुरुआतमात्रै भएको बताएका छन् ।
बुधबार उपत्यकाका जनप्रतिनिधिहरुसँग गरिएको छलफल कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्ष एक वर्षमात्रै नभइ १० वर्षे अभियानकै रुपमा चलाउनुपर्ने बताए ।
नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन तथा अन्तर्राष्ट्रियस्तरमा माथि लैजान पनि अभियानले सहयोग गर्ने मन्त्री भट्टराईको भनाइ छ ।
भ्रमण वर्षको जति तयारी हुनुपर्ने हो भएको भन्दै आगामी दिनमा अझै देखिनेगरी नै काम गर्ने दाबीसमेत उनले गरे ।
दुई लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सुरु हुन लागेको भ्रमण वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अझै स्तरोन्नति गर्न आवश्यक रहेको मन्त्री भट्टराईको भनाइ छ ।
निजगढ विमानस्थलको विकल्प नभएकाले पनि बनाउनैपर्ने निष्कर्षमा पुगेको उनले उल्लेख गरे ।
विदेशमा पनि भ्रमण वर्षबारेमा जानकारी दिन आवश्यक
काठमाडौं महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले विदेशी पर्यटकको संख्या बढाउनका लागि स्वदेशमा मात्रै नभइ विदेशमा पनि भ्रमण वर्षकोबारेमा जानकारी दिन आवश्यक रहेको बताए ।
सम्पदाको पुनःनिर्माण, सरसफाइ तथा हरियाली वृद्धिमा जोड
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भ्रमण वर्ष नजिकिँदै गर्दा साँस्कृतिक सम्पदाको पुनःनिर्माण, सरसफाइ तथा हरियाली वृद्धिमा जोड दिएको बताए ।
भ्रमण वर्ष नजिकिँदै गर्दा राजदूतावासलाई क्रियाशील गराइ उनीहरुलाई पनि प्रचार–प्रसार गर्न दिएमा अझै पर्यटकको संख्या बढाउन सकिने उनले बताए ।
भ्रमण वर्ष २०२० सफल बनाउनका लागि अझैपनि आवश्यक पूर्वाधारको विकास नभइसकेकोप्रति जनप्रतिनिधिहरुले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
उपत्यकामा नै सडक तथा शौचालयको उचित व्यवस्थापन हुन नसकेकोप्रति उनीहरुले ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्