६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


नेपालको आवश्यकता र प्राथमिकतामा वैदेशिक सहायता खर्च गरिने प्रधानमन्त्री देउवाको भनाइ

प्रधानमन्त्री देउवा -विश्व बैंकका दक्षिण एशिया उपाध्यक्ष सेफर भेट

0
Shares

काठमाडौं, असोज ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले दाताहरुले प्रदान गर्ने सहयोग सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने प्रष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार प्रधानमन्त्री देउवासँग विश्व बैंकका दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भेट गर्ने क्रममा यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले विश्व बैंकले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने गरेको प्रष्ट गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले विश्व बैंकले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिद, कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न तथा भूकम्प पछिको पुनर्निर्माणलगायत क्षेत्रमा गरेको सहयोगका लागि उपाध्यक्ष सेफरलाई धन्यवाद पनि दिनुभयो ।

विश्व बैंकको सहयोगमा हाल नेपालमा दुई दर्जनभन्दा बढी विभिन्न आयोजना सञ्चालित छन् ।

प्रधानमन्त्री देउवाले नेपाल सरकार सुशासनप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै जलवायु परिर्वतनको प्रभाव न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको र आगामी दिन वातावरण सुधारका लागि थप व्यवस्थित रूपमा कार्य अघि बढाउने गरी प्रणालीको विकास गरेकोसमेत जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री देउवासँगको भेटबारे उपाध्यक्ष हार्टविग सेफरले कोभिड–१९ विरुद्धको कार्य, जलवायु परिवर्तन, कनेक्टिभिटी र आर्थिक पुनरुत्थानमार्फत् नेपाललाई अझ राम्रो बनाउन नेपाल सरकारले राखेको प्राथमिकताबाट आफू निकै उत्साहित भएको उल्लेख गर्नुभएको छ ।

नेपाललाई आवश्यक सहयोग गर्न विश्व बैंक सँधै तयार रहेको पनि उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उल्लेख गर्नुभएको छ ।