काठमाडौं । अर्थतन्त्रको सूचकको रूपमा लिइने पुँजी बजार घट्नु र बढ्नु सामान्य हो । तर, पछिल्लो गिरावटलाई भने लगानीकर्ताले अप्राकृतिक गिरावटका रूपमा लिएका छन् ।
एक महिनाको अवधिमा लगानीकर्ताले ६ खर्ब ९२ अर्ब गुमाइसकेका छन् । दैनिक २१ अर्ब ३० करोड सम्म पुगेको कारोबार ५ अर्बको हाराहारीमा खुम्चिएको छ ।
एकाध बाहेक सुचिकृत कम्पनीको तथ्याङ्क एवं कार्यसम्पादन सन्तोषजक रहँदा पनि नराम्ररी घटेको बजारले सबै लगानीकर्ता मारमा परेको लगानीकर्ता एवं विश्लेषक अम्बिकाप्रसाद पौडेल बताउनुहुन्छ ।
४४ खर्ब १४ अर्बको पूँजीकरण पुगिसकेको बजारमा लगानीकर्ताको संख्या पनि लाखौं पुगिसकेको छ । तर, पूँजीबजारका अभिभावक मानिएका निकायका जिम्मेवार पदाधिकारीको गैरजिम्मेदार बोली पनि बजार घट्नुको मुख्य कारक बनेको पौडेलको बुझाइ छ ।
पुँजीबजारको उतार चढावलाई सौन्दैर्यको रूपमा चित्रण गर्ने गरिए पनि नेपालको बजारमा भने सीमित लगानीकर्ताको मुठ्ठीमा बजार रहेका कारण वास्तविक सौन्दर्य देखिन नसकेको साना लगानीकर्ताको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्