७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


दशैँका लागि अग्रिम टिकट बुकिङ खोलाउनेबीच विभाग र व्यवसायीबीच विवाद

सर्वसाधारण कालोबजारीको प्रत्यक्ष सिकार बन्नसक्ने सम्भावना

0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । दशैं आउन १७ दिन बाँकी रहँदा सार्वजनिक यातायातको अग्रिम बुकिङ खोल्नेमा सरकार र यातायात व्यवसायीबीच मत बाझिएको छ । सरकार ११ गतेभित्र स्वास्थ्य मापदण्ड पूरा गरेर टिकट बुकिङ खोल्ने योजनामा छ भने व्यवसायीहरू परिस्थितिजन्य निर्णय गर्ने मूडमा छन् ।

सरकारले असोज पहिलो साता नै अग्रिम बुकिङ खोल्न गरेको आग्रहलाई व्यवसायीले सुनेको नसुनै गरिदिए । उनीहरूको मूल्यांकनमा यसपटक राजधानी छोड्ने मानिस कम हुन्छन् । कोभिडको प्रभावका कारण घर गएकाहरू अझै नफर्किएकाले सार्वजनिक यातायातमा दवाव नपर्ने व्यवसायीको विश्लेषण छ ।

त्यसैले आवश्यक भए मात्र अग्रिम टिकट बुकिङ खोल्नेमा आफूहरू रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउनुहुन्छ । २१ गते घटस्थापना भएकाले अहिले नै हतारिनु नपर्ने उहाँको भनाइ छ ।

सरकारको अर्कै हिसाब छ । धेरैले खोपको मात्रा पूरा गरेकाले त्यही आत्मविश्वास लिएर दशैं मनाउन घर जानेको चाप यसपटक बढ्छ । त्यसैले स्वास्थ्य मापदण्ड अपनाएर असोज ११ गतेभित्र अग्रिम बुकिङ कडाइसाथ लागू हुने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज पाण्डे बताउनुहुन्छ ।

यात्रु चाप कम गर्न अनलाइन टिकट बुकिङ प्रभावकारी बनाउने र प्रदेशगत रूपमा दिन बिराएर टिकट बिक्रीको व्यवस्था मिलाउने विकल्प यातायात व्यवसायीलाई दिएको महानिर्देशक पाण्डेको भनाइ छ । कामना गरौं, दुई सरोकारवाला निकायबीचको अन्योलले दशैंमा सर्वसाधारणको बिचल्ली नहोस् । दशैं मनाउन घर जाने सर्वसाधारण कालाबजारीको सिकार नहुन् ।