६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


प्रतिनिधि सभामा नेकपा एमालेको विरोधबीच विनियोजन विधेयक पारित गरिँदै


0
Shares

काठमाडौं, असोज ४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दागर्दै पनि प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०७८ पारितको प्रक्रिया थालिएको छ ।

प्रतिनिधि सभा बैठक शुरु हुनासाथ एमाले सांसदहरु सभामुखको अगाडि उभिएर नाराबाजी थाले पनि सभामुख अग्नि सापकोटाले संसद्को कारवाही अगाडि बढाउनुभएको थियो ।

विपक्षीको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेश गरेको छ । भदौ २५ गते पेश गरेको विनियोजन विधेयक पारित गराउन सरकारले चाहे पनि विपक्षी एमालेले भने पार्टी विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको भन्दै विरोधमा उत्रिएको हो ।

विधेयक फास्टट्रयाकमा पारित गराउन विभिन्न मन्त्रालयअन्तर्गत विनियोजित शीर्षक छलफलका लागि एकमुष्ट पेश गरिएको छ । संसदमा प्रमुख प्रतिपक्षीले नाराबाजी गरिरहेकाले नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विधेयकमाथि प्रश्न उठाएका छन् भने सत्ता पक्षका सांसदहरुले विधेयकलाई समर्थन गरेका छन् ।

सभामुखले विधेयकका कार्वाहीहरु स्वीकृत भएको घोषणा गर्नभएको छ ।