पुरस्कार नलिनु झन् पुरस्कार ! « Image Khabar


पुरस्कार नलिनु झन् पुरस्कार !


Border circle
Imagekhabar

पेशल आचार्य

२०४५ साल भदौ ५ गते आइतबार बिहान ५ बजेर ५५ मिनेट जाँदा पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु भएर नेपालमा ५.५ रिक्टर स्केलको भूकम्प गयो । सो भूकम्पले पूर्वी पहाडी जिल्लाहरूमा सामान्य र सुनसरी जिल्लाको धरानमा धेरै जनधनमा क्षति पु¥यायो । त्यो क्षतिको निरीक्षणका लागि तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहसमेत पूर्वाञ्चल भ्रमणका छेक पारेर धरान पुगेका थिए । धरान चन्द्र शमशेरका पालमा बसाइएको भिरालो प्रकृतिको बजार हो । पानी नजम्ने र महाभारत पर्वतको काखमा रहेकाले यहाँको हावापानी पूर्वका विराटनगर, इटहरी, दमक, बिर्तामोड र इनरुवाका भन्दा धेरै राम्रो छ ।

यहाँ लाहुरेहरूको बाक्लो वस्ती छ । संसारमा पहिलोपटक लण्डन, बर्लिन, पेरिस, टोकियो र सिङ्गापुरमा निस्केको फेसन भोलिपल्टै धरानमा स्वाट्टै कपी हुन्छ । धरानैहरूसँग किन्ने ल्याकत छ । यसलाई नेपालको ‘दार्जिलिङ्’ समेत उपनामले चिनिन्छ । यो अहिले पूर्वाञ्चलको सुन्दर पर्यटकीय नगरीका रूपमा सुपरिचित छ । यहाँ एक नम्बर प्रदेशमै नाम चलेको विशाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नामक अस्पताल, दन्तकाली भगवती, बूढासुब्बा र पिण्डेश्वर बाबाका मन्दिरका साथै ब्राह्मणहरूका लागि कर्मकाण्डीय रूपले पितृ तर्पणका लागि प्रसिद्ध विष्णुपादुका समेत रहेका छन् ।

त्यसैले धरानको चहलपहल धेरै छ । दिनमा दुई छाक भात मुस्किलले खाने गरिबदेखि आफ्नो घडेरीमा निजी हेलिकोप्टर राख्ने कुलीनसम्म धरानमै छन् । लाहुरेहरूले घर र खेत आउन जानका लागि आफैँले पिचबाटो बनाएको किस्सा यहाँ कहिलेकाहीँ हालिन्छन् ।
भूमिकामा धरान आए पनि आजको विश्लेषणको कन्टेन्टमा पदक र पुरस्कार छ । २०४५ को भूकम्प सकियो । राज्यले पुनर्निमाणमा जनतालाई पछि ५ र १० हजार ऋण दियो । त्यो पनि केही वर्षमा मिनाहा गरिदियो । २०४६ सालतिर राजाको जन्मोत्सवको मौका पारेर सरकारले ‘भूकम्प पीडितोद्धार पदक’ दियो । उसबेलाका प्रधानमन्त्री, मन्त्री, राष्ट्रिय पञ्चायतका सदस्यहरू, ठूला पञ्च, उच्च पदस्थ कर्मचारी सबैले पदकहरू बाँडीचुँडी लिए । भनेको सुनेको त्यो बेलामा पदक लिन बाँकी मानिस कोही कसैको नाता नलाग्ने, सामान्य जनता या कहीँ कतैबाट सोर्स नहुने मात्रै थिए रे !

त्यहीबेला राष्ट्रिय पञ्चायतमा सुर्खेतबाट एकजना चन्द्रबहादुर श्रेष्ठ भन्ने माननीय पञ्च थिए । उनमा सो पदक पाउने इच्छा जागेछ । उनले कतैबाट सो कुरा त्यो बेलाका प्रधानमन्त्री मरिचमान श्रेष्ठ भए ठाउँ पु¥याए । मरिचमानले उनलाई प्रधानमन्त्रीको कार्यालय सिँहदरबार बोलाएर पदक राखेको कुनामा देखाउँदै आफूलाई चाहिएजति पदक लैजान भनेछन् । सो सुनेपछि चन्द्रबहादुर श्रेष्ठ माननीय तीन छक्क परेर भनेछन् –‘यो ठूलो सम्मान होला भनेर लोभ गरेको त जाबो आफैँले छानेर चाहिएजति लान पाउने भएपछि के पदक भयो र ?’अनि उनी पदक नलिई रित्तै हात फर्किएका थिए रे ! केही वर्षपछि उनी त्रिभुवन विमानस्थलमा शरीरमा सुन लुकाएर ल्याउँदै गर्दा रङ्गेहात पक्राउ परेर थुनामा परे । पछि उनको गुमनाम मृत्यु भयो । एउटा पदकको कथा यसरी सकियो ।

हो, पुरस्कार भनेको यस्तै हो । संसारमा पुरस्कार, पदक, मानसम्मान र अलङ्कार बारे धेरै विवादहरू सुन्न/पढ्न पाइन्छन् । संसार प्रसिद्ध नोबेल पुरस्कार विश्वका धेरै घघडान् र विश्वप्रसिद्ध लेखकहरूले अस्वीकार गरेका छन् । नेपालमा युवा वर्ष मोति पुरस्कार साहित्यकार किशोर पहाडीलाई अर्का साहित्यकार नरेन्द्रराज प्रसाईंसँग जोडेर संयुक्त रूपमा दिँदा किशोर पहाडीले आफू र प्रसाईंको राजनीतिक दर्शन नमिलेकै कारण वहिष्कार गरेका थिए । उनी प्रजातन्त्रवादी र प्रसाईं पञ्चायत समर्थक मानिन्थे ।

पुरस्कारले धेरै मानिसहरूको नामलाई बद्नाम गरेका छन् । नेपालमा अहिलेसम्म ठूलो र निक्कै सानसाथ प्रस्तुत भएको साहित्यिक क्षेत्रको मदन पुरस्कार उधुम नाम चलेका हस्ती साहित्यकारहरूलाई दिइएको छैन । महाकवि देवकोटा, नाट्यसम्राट बालकृष्ण सम, युवकवि सिद्धिचरण श्रेष्ठ, प्रख्यात नाटककार विजय मल्ल, आख्यानकार/नाटककार गोविन्द गोठाले, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कवि शिरोमणि लेखनाथ पौडेल, कवि धरणीधर कोइराला, आधुनिक कथाकार गुरुप्रसाद मैनाली, मनोवैज्ञानिक आख्यानकार बीपी कोइराला र महान् हास्यव्यङ्ग्यकार भैरव अर्यालजस्ता महान् साहित्यकारहरूले पाएनन् ।

२०४६ पछि मदन पुस्कार पाउने लेखकहरूको नामलिष्ट हेर्दा डायमण्ड शमशेर, मनु ब्राजाकी, ध्रुव सापकोटा, वानीरा गिरी, माया ठकुरी र तोया गुरुङजस्ता साहित्यमा दम र योगदान भएका स्रष्टाहरूले नपाएर आउरेबाउरे लेखकहरूले समेत पाएको देखियो । भनिन्छ दीक्षित परिवारले जसलाई मन पराउँछ उसलाई सो पुरस्कार दिइने पनि गरिन्थ्यो रे ! एकजना पुरस्कार मूल्याङ्कनकर्ता जुरीका सदस्यले भनेको सुनेको पहिले निर्णय गरेर पछि दस्तखत गराउन आफू कहाँ कागज ल्याइएका धेरै घटनाहरू थिए रे !

एकपटक एभेन्यूज टेलिभिजनले दिएको रिपोर्टअनुसार १५ हजारको पुरस्कारका लागि प्राप्त गर्ने सर्जकले सो पुरस्कार दातालाई २० हजारभन्दा बढीको त नशापरक जलपान नै गराएका थिए । कतिपय पुरस्कारहरू नेपालमा स्थापना गरी संस्था झोलामा बोकेर हिँड्ने गरिन्छन् । कसै कसैलाई त प्रमाणपत्र या प्रशंसापत्र मात्र दिने खाम दिँदा खाली खाम मात्र दिने र रकममा खाम दिइयो भने पनि पछि दातालाई नै फिर्ता दिनेसमेत गरिन्थ्यो रे ! ‘विश्वको कु्रा त थाहा छैन । दक्षिण एसियामा पुरस्कार संस्कृतिमा सबैभन्दा भ्रष्ट मुलुक नेपाललाई भनिन्छ’ भनेर एकजना प्रसिद्ध कविले यो लेखकसँग भनेका थिए । कुरोको चुरो के हो उनै जानून ।

सरकारले सातौं संविधान दिवसमा दिएका विभिन्न पदक र पुरस्कारहरू पार्टीकरण भएको, गत वर्ष ४६७ जना र यस वर्ष ९०३ जनालाई बाँडिएको भन्ने खालका आरोपहरू समेत लगाइए । प्रतिपक्षी नेता केपी शर्मा ओलीले नेताको स्तरभन्दा तल झरेर ‘राष्ट्रपतिबाट पदक अब के दिनु ? बनाउने ठाउँबाटै मिलाएर लगे भैहाल्यो नि’ भनेको कुरा अखबारमा आयो । यसपटक गठबन्धनमा सामेल भएका पार्टी सम्बन्धितलाई खोजीखोजी पदक दिइएको आरोप लागेको छ । बाँडिएका ९०३ पदकमध्ये ८५ जना दिवंगत मानिसहरूलाई दिइएको छ । दुःखको कुरो मानपदवी घोषणाको कुनै मापदण्ड छैन । कनिष्टले वरिष्ठ पदक र वरिष्ठहरू कनिष्ठ पदकमा थन्किएका देखिन्छन् ।

पत्रकारहरूलाई दिइएको एक दर्जन सुप्रबल जनसेवा पदकमध्ये सम्पादक हरिबहादुर थापा, सम्पादक नारायण अमृत, सम्पादक कृष्णज्वाला देवकोटा र काट्रटुनिष्ट रवीन सायमीले वहिष्कार गरे । उनीहरूले पुरस्कार पाउनेले नपाएका, नपाउनेले दलगत रुपमा पाएका र आफूहरूलाई सो पुरस्कार दिँदा पूर्व सूचना नै नदिई पाएको र दिने प्रक्रिया नमिलेको देखिएकाले बहिष्कार गरेको बताए ।


रमाइलो कुरो त के छ भने यो पटकको पदक पाउनेमा प्रचण्ड पत्नी माते सीता दाहाल, माधव नेपालका पिता स्व.मंगलकुमार उपाध्याय (मरणोपरान्त) समेत परेका छन् । अरू त अरू संसद पुनस्र्थापनाका लागि फैसला गर्ने सर्वोच्च अदालतका पाँचजना न्यायाधीहरू समेत परेको देखेर एमाले उपाध्यक्ष सुवाष नेमाङ्गले मुखै फोरी ‘न्यायाधीशहरूले पदक फिर्ता गर्नु राम्रो’ भनेका छन् । हास्यास्पद कुरा त के छ भने पोहोर पदक दिएका मानिसहरूको सूचीमा अत्यधिक नेकपाका नेता र कार्यकर्ताहरू थिए । यस्तो भएपछि पञ्चायतका माननीय चन्द्रबहादुर श्रेष्ठ (सुनबूढा) ले झैँ पदक फिर्ता गर्नुको विकल्प रहनेछैन ।

समाजका प्रबुद्ध व्यक्तिहरूले पदक बहिष्कार गर्नुले सरकारले अपारदर्शी र दलगत आधारमा वितरण गरेको कार्यलाई विरोध जनाइएको छ । पदक त दिनेले देओस् लिनेले थाहा नपाई आफ्नो कामको मूल्याङ्कन भएको ठानेर स्वतःस्फूर्त लेओस् । अनि पो मजा आउँछ त । तर यस्तो नेपालमा कहिल्यै हुन सकेन किन ? त्यसैले पुरस्कारहरू निरन्तर बद्नाम हुँदै आएका छन् । आखिर पुरस्कार नलिनु पनि त पुरस्कार नै हो नि । लिँदा जति चर्चित होइन्छ नलिँदा त्यो भन्दा बढी होइन्छ । कि कसो ?

प्रतिक्रिया दिनुहोस्