काठमाडौं, असोज ३ । मानपदवी, अलंकार र पुरस्कारले पुरष्कृत व्यक्तित्वको पदीय गरिमा बढाओस, मुलुककाप्रति अझ जिम्मेवार होस भन्ने उद्देश्यबाट विभूषित गरिन्छ । तर संविधान दिवसका दिन विभूषित गरिएका ९ सय ३ जनामध्ये ८५ दिवंगत भइसकेका पात्र छन् । पुरष्कृत अधिकांश अनुहारमध्ये शक्ति र सत्तामा रहेर रजगज गरेका र चाकरी बजाउनेहरुकै हाली मुहाली देखिन्छ ।
मानपदवी मध्येकै सर्वाधिक ठूलो नेपाल रत्न दिवंगत नेता कृष्णप्रसाद भट्टराईलाई दिइएको छ । २०४७ सालको संविधान जारी गरेवापत उहाँलाई यो अलंकार दिएको भनिएको छ । जबकी अहिलेको शासन व्यवस्था त्यो संविधानलाई विस्थापित गरेर आएको हो । त्यसैगरी कांग्रेसका दिवंगत नेता सुवर्णशम्शेरलाई राष्ट्रगौरवबाट विभूषित गरिएको छ । सरकारको सहयोगमा मृगौला प्रत्यारोपण गरेर घरमा आराम गरिरहनुभएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल राष्ट्र गौरवबाट विभूषित हुनुभएको छ ।
मानपदवी घोषणाको कुनै मापदण्ड छैन । कनिष्ठले वरिष्ठ पदक पाएका छन् भने वरिष्ठहरु कनिष्ठ पदकमा थन्किएका छन् । सत्ता अनुकूलका मानिसलाई रोजीरोजी खोजीखोजी पुरष्कृत गरिएको देखिन्छ । सत्ता र शक्ति रिझाउन पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका नाममा प्रसिद्ध प्रवल जनसेवाश्री पदक दिइएको छ । प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास वैरागी, सर्वोच्च अदालतका न्यायाधीश र पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीलाई यही पदक दिइएको छ । वर्तमान सरकारका निर्माता माधवकुमार नेपालका बाबु मंगलकुमार उपाध्यायलाई समेत मरणोपरान्त राष्ट्रले सम्झिएको छ । कांग्रेसले अधिकांश पुराना सहिदलाई पदकमार्फत श्रद्धाञ्जलि दिएको छ ।
२५ किसिमका विभूषण घोषणा गरिएको छ । जसमध्ये ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक छन् । सधैंजस्तै यो पटक पनि पदक पाउनेमा कार्यकारी उच्च पदाधिकारीको हालीमुहाली देखिन्छ । प्रधानन्यायाधीश, महान्यायाधिवक्ता दुई दर्जन बढी मन्त्रालयका सचिव, फौजीका प्रमुख पदक पाउने कोटीमा छन् । पदकको सरोकारवाला निकाय गृह मन्त्रालयकै पदाधिकारीले पदकमा बढी अधिकार जमाएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्