
काठमाडौं । पशुपति क्षेत्रका केही भण्डारीका सन्तानहरु ब्रतबन्धबाट बञ्चित छन् । पशुपतिको चारकिल्ला बाहिर जन्मेका र विवाहपछि पशुपति मन्दिर नघुमेकालगायत कारण देखाउँदै ब्रतबन्ध रोकिएको हो ।
पशुपति क्षेत्र विकास कोषले अनुमति नदिएकाले तिथि तोकिएर पनि केही भण्डारीका सन्तानको ब्रतबन्ध हुन नसकेको हो ।
पशुपतिका भण्डारी केदारमान भण्डारी गर्भवती पत्नी ज्ञानुलाई ओम अस्पताल दौडाउनुपरिरहेको सम्झिरन्छन् । ८ महिनाको गर्भवती उनलाई अचानक समस्या देखिएकाले पशुपति क्षेत्रभित्रै पर्ने भएकाले ओम अस्पताल लगेका थिए ।
अस्पतालले तुरुन्तै शल्यक्रिया गर्नुपर्छ भनिदियो । ‘अप्रेसन गर्नुपर्छ, एकलाख रुपैंयाँ जम्मा गर्नुपर्छ भन्न थाल्यो अस्पतालले । कहाँ अप्रेसन गर्नु ?’ केदारले भने, ‘त्यहाँबाट ट्याक्सी लिएर प्रसुतिगृह गयौं । त्यहाँ लैजान निषेध थियो, जेसुकै होस भनेर लग्यौं ।’
प्रसूतिगृह लगेपछि अप्रेसन गर्नुपरेन । सामान्य जाँच गरेर पठाइदियो । एक महिनापछिको डेट दियो । दिएको डेटमा प्रसूतिगृह गएँ । नर्मल डेलिभरी भयो । ‘खर्चै भएन, उल्टै एक हजार रुपैंयाँ भत्ता पो पाइयो,’ भण्डारीले भने, ‘झन्डै लाख रुपैंयाँ खर्च भइसकेको थियो ।’
पशुपतिनाथ मन्दिरको भण्डारी हुन पशुपति क्षेत्रको चारकिल्लाभित्रै जन्मेको हुनुपर्ने ब्यवस्था छ । चारकिल्लाभित्र प्रसूति सेवा ओम अस्पतालमा मात्रै छ । ओम अस्पतालमा सामान्य आर्थिक अवस्था हुनेको पहुँचमा छैन । कान्तिपुर दैनिकबाट
।
प्रतिक्रिया दिनुहोस्