काठमाडौं, पुस ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक ल्याउने पूर्ण तयारी भइसकेको दाबी गरेका छन् ।
यस योजनालाई सफल बनाउन उनले निजी क्षेत्र र सरोकारवाला सबै पक्षसँग आग्रह पनि गरेका छन् ।
मंगलबार विभिन्न सरोकारवाला निकायसँग यससम्बन्धी भएको छलफल कार्यक्रममा मन्त्री भट्टराईले यो अभियान सबैको साझा उद्देश्य भएकाले यसमा सबैको सहयोगका लागि आग्रह गरेका हुन् ।
भ्रमण वर्ष नजिकिँदै गर्दासमेत विभिन्न परियोजना तथा सडकहरुसमेत समयमै निर्माण हुन नसक्नु दुःखदायी भएको भन्दै यसमा सरकार गम्भीर रहेको पनि मन्त्री भट्टराईको भनाइ छ ।
वर्तमान समयमा ३ प्रतिशत योगदान पुर्याउँदै आएको पर्यटन क्षेत्रलाई आगामी ५ वर्षमा १० प्रतिशत योगदान पुग्ने गरी क्षमता वृद्धि गर्ने मन्त्री भट्टराईको भनाइ छ ।
पूर्वाधारका लागि केही समय लागे पनि पर्यटन पूर्वाधार तथा विमानस्थल निर्माणका लागि काम गरिएको पनि उनको भनाइ छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे बुझाउन केही समस्या भएपनि निर्माण भने भएरै छाड्ने अठोट पनि मन्त्री भट्टराईले व्यक्त गरे ।




प्रतिक्रिया दिनुहोस्