Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


‘एमसीसी नेपालकै हितमा’, अनावश्यक विवाद नगरी संसदबाट अनुमोदन गर्न सुझाव


0
Shares

काठमाडौं, पुस ८ । अर्थविद् तथा पूर्वराजदूतहरुले अमेरिकी सहयोग ‘एमसीसी’बारे कुनै विवाद नगरी संसदबाट अनुमोदन गर्न सुझाव दिएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा श्रीलंकाका लागि पूर्वराजदूत प्रा. डा. विश्वम्भर प्याकुरेल, अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्मा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेल र अर्थविद् डा. डिल्लीराज खनालले एमसीसी सहयोग नेपालको हितमा रहेको दाबी गर्दै यसलाई संसदबाट पारित गरिनुपर्ने बताएका हुन् ।

पूर्वराजदूत अर्थविद् प्रा. डा. विश्वाम्भर प्याकुरेलले एमसीसी नेपालकै हितमा भएकाले कुनै विवादबिना यसलाई संसदबाट पास गर्नुपर्नेमा जोड दिए ।

एमसीसीलाई राजनीतिक मुद्दा बनाउन नहुने भन्दै हाललाई एमसीसी संसदबाटै अनुमोदन गरे पनि सबै कुरालाई संसदबाट लैजान भने आवश्यक नरहेको पनि उनले बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. पोखरेलले ५० करोड डलर बराबरको एमसीसी कम्प्याक्ट नेपालकै हितमा रहेको भन्दै विवादमा नअल्झिन आग्रह गरे ।

अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शर्माले पनि एमसीसीलाई अघि बढाउनुपर्ने धारणा राखे ।

एमसीसीको सबै सूचांक पार गरेर सन् २०११ को डिसेम्बरमा नेपाल ‘क्वालिफाइ’ भएको शर्माले उल्लेख गरे ।

अर्थविद् डा. डिल्लीराज खनालले पनि नेपालले सम्झौता गरिसकेकाले अब यसलाई विवाद नगरी संसदबाट अनुमोदन गर्नुपर्ने सुझाव दिए ।

उनले एमसीसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गर्दै यी दुवै विषयलाई मिसाएर विवाद गरेर भ्रम सिर्जना गर्न नहुने बताए ।