३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


उपेन्द्र यादवको राजीनामापत्र ‘दर्ता नम्बर २८’


0
Shares

काठमाडौं, पुस ८ । उपप्रधान एवं कानुनमन्त्रीबाट राजीनामा दिएका उपेन्द्र यादवले आफ्नो राजीनामापत्र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका छन् ।

उनले मंगलबार दिउँसो प्रतिनिधिमार्फत् राजीनामापत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

यादवको राजीनामापत्र बोकेर उनका स्वकीयसचिव महेश चौरसिया प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए ।

‘उहाँको प्रतिनिधि बनेर म बालुवाटार गएको थिएँ’–चौरसियाले इमेजखबरसित टेलिफोनमा भने–‘त्यहाँ मैले राजीनामापत्र दर्ता गराएर आएको हुँ । दर्ता नम्बर २८ हो ।’

उनकाअनुसार उनी मंगलबार दिउँसो ३ बजेतिर बालुवाटार गएका थिए ।

स्वकीयसचिव चौरसिया बालुवाटार गएपछि सिंहदरबारमा समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक बसेको थियो ।

समाजवादी पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सो बैठकमा सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी गराएका थिए ।

त्यसअघि नै इमेलमार्फत् यादवको राजीनामापत्र मिडियालाई पठाइएको थियो ।

मोहम्मद इस्तियाक राईको पनि राजीनामा

समाजवादी पार्टीबाटै सहरी विकासमन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि मंगलबारै राजीनामा दिएका छन् ।

मंगलबारै बिहान काठमाडौंमा उपलब्ध समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।