विराज रोस्यारा
कैलाली । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षअघि तामझामका साथ शिलान्यास गरेको डोटीको निर्माणाधिन सहजपुर–बोगटान कालोपत्रे सडक अलपत्र परेको छ ।
७ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री ओलीले साढे दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने घोषणा गर्नुभएको डोटीको सहजपुर–बोगटान सडक तीन वर्ष बित्दा पनि पूरा हुन सकेको छैन ।
ट्रयाक खुुलेको ४० वर्षपछि सडक कालोपत्रे हुने भन्दै खुुशी भएका स्थानीय अहिले पनि धुलाम्मे र हिलाम्मे सडकमा यात्रा गर्न विवश छन् । दोस्रो पटक थपेको ६ महिनाको म्याद सकिन लाग्दासमेत काममा चासो दिइएको छैन ।
कैलालीको चुुरे गाउँपालिका–३ सहजपुुरका स्थानीय गंगाराम रिजाल, कालोपत्रे हुने भनेर पनि नहुँदा आफूहरूलाई यात्रा गर्न कठिनाइ भएको बताउनुहुन्छ । ठाउँ–ठाउँमा सडकमाथिबाट आएकोे पहिरोले समेत आवतजावतमा मुस्किल हुने गरेको उहाँको भनाइ छ ।
डोटीको जोरायल गाउँपालिका–५ गड्सेराका विक्रान्त देउवा, आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरबाहीले सडकको काम ३३ महिनामा पनि आशा गरेअनुसार अघि नबढेको गुनासो गर्नुहुन्छ । विभिन्न कारण देखाएर काममा ढिलाइ गरिएको उहाँको आरोप छ ।
ठेक्का सम्झौता भएको २७ महिनापछि मात्र रुख कटान आदेश पाएकाले काममा ढिलाइ भएको सडक आयोजना कार्यालयको जिकिर छ । अहिले आयोजनाको ४२ प्रतिशत काम सकिएको र बाँकी २०७९ फागुनसम्म सक्ने कार्यालय प्रमुख उज्वल श्रेष्ठ बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्