च्यातिए ओढाएका त्रिपाल, खिया लागे पाटपुर्जा, तर चलेन रेल « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


च्यातिए ओढाएका त्रिपाल, खिया लागे पाटपुर्जा, तर चलेन रेल

खरिद गरेर ल्याएको एक वर्ष पूरा

0
Shares

काठमाडौं । दुई महिनाभित्रै सञ्चालन गर्ने भनेर भारतबाट नयाँ दुई सेट ब्रोडजेग रेल खरिद गरेर ल्याएको एक वर्ष पूरा भएको छ । गत असोज २ गते भारतबाट तामझामसहित नेपाली भण्डा फहराउँर्द ल्याइएका दुई सेट रेल अलपत्र परेका छन् ।

भारतीय कांकन रेल्वे कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा किनिएको रेल एक वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेशनमा त्रिपाल ओढाएर थन्क्याइएको छ । घाम–पानीले रेलमाथि ओढाइएका त्रिपाल पनि च्यातिएको छ । पाटपुर्जामा खिया लाग्न थालेका छन् । सशस्त्र प्रहरीको निगरानीमा राखिएको रेलको रेल्वेका ३० जना कर्मचारीले रेखदेख गर्दै आएका छन् ।

भारतको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सन् २०१० मा सम्झौता भएको थियो । सन् २०११ माघ महिनादेखि निर्माण थालिएको जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इकर्न इन्टरनेसनल कम्पनीले लिएको छ ।

परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजना थियो । जसमध्ये जयनगरदेखि कुर्थासम्मको लिक दुई वर्षदेखि पूर्ण तयारी अवस्थमा छ ।

कुर्थादेखि भंगहासम्मको लिक लगभग तयारी अवस्थामा रहेको पूर्ण तयारीका लागि दुई महिना अझै लाग्ने रेल्वे विभागले जनाएको छ । जनकपुर आएकै दिन नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले दुई महिनाभित्रै कानुनी प्रकृया पूरा गरी जनशक्ति राखेर रेल चलाउने आश्वासन दिनुभएको थियो । तर, कानुनी जटिलताले एक वर्ष बित्दा अझै रेल चल्न सकेको छैन ।