७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


मापदण्ड विपरीत सडक खन्दा कैलालीमा पहिरो, विस्थापित तीन सय परिवार फेरि त्रासमा


0
Shares

विराज रोस्यारा
कैलाली । गत वर्ष वर्षातमा पहिरोको कारणले तीन सय परिवार विस्थापित भएका चुरे गाउँपालिकामा पुनः पहिरो जान थालेपछि स्थानीय त्रसित भएका छन् । वर्षपिच्छे मापदण्ड विपरीत सडक खनिन थालेपछि गाउँपालिकाका विभिन्न वडाका स्थानीय पहिरोका कारण विस्थापित हुन थालेका छन् ।

चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगंलाडी, पट्रेनि, गुणि लगायतका गाउँमा पहिरोका कारण गाउँले विस्थापित हुन थालेका छन् । तीनै तहका सरकारले मापदण्ड नपुर्‍याइ गाउँ–गाउँमा सडक पुर्‍याउने होडबाजीले पहिरो जान थालेको हो । गाउँको दुवैतिरबाट पहिरो गएर बस्नै नसक्ने अवस्था आएको स्थानीय कमलबहादुर लामाको गुनासो छ ।

पहिरोको जोखिम भएपछि २४ परिवार सडकमा त्रिपाल टाँगेर बसेका छन् । पहिरो प्रभावित परिवारहरूलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । पहिरोका कारण विस्थापित भएर सडकमा बस्नु परे पनि स्थानीय सरकार तथा प्रदेश सरकारले पनि कुनै पहल नगरेको स्थानीय मिनबहादुर तामाङको गुनासो छ ।

गत वर्ष आएको पहिरोका कारण पट्रेनि, गुणीका ३ सय परिवार विस्थापित भएका थिए । अहिले पनि घर, गोठ जमिन चर्किनुका साथै पुरै बस्ती पहिरोको उच्च जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । नयाँ ठाउमा बस्ती बसाउन केन्द्र र प्रदेश सरकारसँग पहल भइरहेको चुरे गाउँपालिका–५ का वडाध्यक्ष नरबहादुर तामाङ बताउनुहुन्छ ।

पहिरोबाट प्रभावित घरपरिवारले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । मापदण्ड नपु¥याएर सडक निर्माण गर्दा हरेक वर्ष धेरै ठाउँहरू पहिरोको जोखिममा पर्दै आएका छन् । सडक विस्तारको नाममा हजारौं सर्वसाधारण विस्तापित हुँदै आएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।