२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


विधानसभा चुनावमा झारखन्डमा भाजपा कमजोर


0
Shares

मुम्बई, पुस ७ । भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा)ले पूर्वी राज्य झारखन्डमा भएको विधानसभा चुनावमा अपेक्षाकृत सफलता नपाउने देखिएको छ ।

निर्वाचन आयोगकाअनुसार मुख्य विपक्षी दल भारतीय कांग्रेस पार्टी र उसको क्षेत्रीय गठबन्धनले ८१ सिटमध्ये बहुमत स्थानमा अग्रता लिइरहेका छन् ।

भाजपाले सोमबार अपराह्नसम्म २४ सिटमा अग्रता लिएको छ ।

सरकारले ल्याएको नागरिकतासम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापीरूपमा जारी विरोधकाबीच मतदान भएको र यसले भाजपाको उक्त निर्णयलाई पनि मतदानका माध्यमबाट अनुमोदन गर्ने वा गलत ठहराउनेछ भनी विशेष चासोका साथ हेरिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

झारखन्डमा भाजपाको नेतृत्व गरिरहेका मुख्यमन्त्री रघुबर दास मतगणनाको सुरूआती चरणमा पार्टीकै विद्रोही उम्मेदवार सरयू रायभन्दा पछि परेको बताइएको छ ।

भाजपाले झारखन्डमा अपेक्षाकृत मत नपाउनुलाई मुसलमान समुदायको विरोधी भएको दाबी गरिने नागरिकतासम्बन्धी नयाँ कानुनले प्रभाव परेको आलोचकहरूले बताएका छन् ।

विरोध प्रदर्शनका क्रममा १० दिनसम्म भएका झडपहरूमा भारतमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

यो वर्षको सुरुमा भएको संसदीय चुनावमा अत्यधिक बहुमत प्राप्त गरी विजयी भएको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपा विधानसभा निर्वाचनमा निकै कमजोर देखिएको छ ।

भाजपाले अक्टोबर महिनामा हरियाणामा भएको विधानसभा चुनावमा पनि बहुमत गुमाएको थियो ।

त्यस्तै, क्षेत्रीय सहयोगी शिवसेनासँगको सम्बन्ध टुटेपछि भाजपाले महाराष्ट्रमा सरकार बनाउन सकेको थिएन । रासस/पीटीआई