प्रधानमन्त्रीको चीन भ्रमणमा यस्ता छन् एजेण्डा • Image Khabar Image Khabar


प्रधानमन्त्रीको चीन भ्रमणमा यस्ता छन् एजेण्डा


Imagekhabar
३१ जेष्ठ २०७५, बिहीबार २१:१४

प्रधानमन्त्रीको चीन भ्रमणमा यस्ता छन् एजेण्डा

काठमाडौं, असार १ । असार ५ गतेबाट हुने प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा करिब एक दर्जन सम्झौतामा हस्ताक्षर गरिने भएको छ ।

अधिकांश सम्झौता उर्जा र यातायात (कनेक्टिभिटी)सँग सम्बन्धित हुनेछन् । दुबै देशका निजी क्षेत्रका परियोजनामा पनि सम्झौता हुने छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएका सम्झौताहरुको कार्यान्वयन पक्षमा छलफल हुनेछ । भ्रमण बिगतको सहमति कार्यान्वयनमा केन्द्रित हुने भन्दै ज्ञवालीले सीमापार विद्युत प्रसारण लाइन, रेलवे र उर्जासँग सम्बन्धित सम्झौता हुने जानकारी दिए ।

पुनर्निर्माणको क्षेत्रमा चिनियाँ सहयोगको द्विपक्षीय समझदारी र परराष्ट्र मन्त्रालयस्तरीय संयन्त्रको समझदारीमा पनि हस्ताक्षर हुनेछ । रसुवागढीमा चीनले बनाइदिन लागेका दुईवटा पुल र ‘ट्रान्जिट ट्रान्सपोर्ट’ सम्बन्धी प्रोटोकलमा भने यस पटक सम्भव नभए पछि हस्ताक्षर गरिने मन्त्री ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्रीको भ्रमणकै क्रममा निजी क्षेत्रबीच ऊर्जा र कृषिक्षेत्रको विकासमा सम्झौता हुनेछ । नेपालको बुटवल पावर कम्पनी र चीनको सिचुवानस्थित एससीआइजी कम्पनीबीच मर्स्याङ्दीका विभिन्न स्थानमा गरि एक हजार मेगावाट विद्युत उत्पादन गर्ने सम्झदारीमा हस्ताक्षर हुनेछ । नेपालको सातै प्रदेशमा आपतकालिन प्रकोप उद्धार संयन्त्र निर्माणका लागि पनि सम्झौता हुने सम्भावना छ । 

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार ५ गते काठमाडौंबाट बेइजिङ पुग्नेछ भने सोही साँझ नेपाली दूतावासमा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुने छन् ।

असार ६ गते त्यहाँको ब्यापारिक समुदायसँग अन्तरक्रिया हुने, सोही दिन नेपाली उद्यमी व्यवसायी र चीनको सीसीपिआइटीबीचको छलफल र उर्जा र कृषि सम्बन्धि निजी क्षेत्रका परियोजनामा हस्ताक्षर हुनेछ ।

असार ७ गते प्रधानमन्त्रीस्तरीय वार्ता र सम्झौतामा हस्ताक्षर, पत्रकार सम्मेलन र राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली असार ८ गते चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै १० गते नेपाल फर्कने मन्त्री ज्ञवालीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्