Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


माधव नेपालको समाजवादीले असोज ५ गते बोलायो केन्द्रीय कमिटी बैठक


0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक असोज ५ गते बस्ने भएको छ। नेकपा एमालेबाट गठन भएपछिको साे पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक काठमाडौंमा बस्न लागेको हाे ।

बैठक मंगलबारका लागि तय गरे पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको पार्टीले जनाएको छ।

सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो।

नेकपा एमालेबाट वैचारिक असहमतिपछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेता अलग भएर नयाँ पार्टी गठन भएकाे थियाे ।

पार्टीका अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटीका साथै सचिवालय, प्रदेश इञ्चार्ज तथा केही विभाग गठन गरिएको छ। पार्टीका केही प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक बसेर राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन्।

युवा तथा विद्यार्थी सङ्गठन स्थापना भइसकेका छन् भने प्रेस सङ्गठन चाँडै घोषणाको क्रममा छ। मजदुर सङ्गठनलगायत अन्य भ्रातृ संस्था निर्माणका लागि तयारी भइरहेको बताइएको छ।

Skip This