२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


भारतको दिल्लीमा आगलागीमा परी नौ जनाको मृत्यु


0
Shares

काठमाडौं, पुस ७ । भारतको नयाँ दिल्लीमा आज बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका रहेका छन् ।

आवासीय भवनमा आगलागी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । नयाँ दिल्लीको उत्तरपश्चिमी क्षेत्रमा पर्ने किरारीमा रहेको चार तले भवनमा आगलागी भएको हो ।

दिल्ली अग्नी नियन्त्रण विभागका अधिकृत अजयकुमारले  सो आगलागीमा मारिएमा तीन जना चिन्नै नसकिने गरी पूर्ण रुपमा जलेको बताए ।

आगो पूर्णरुपमा नियन्त्रणमा लिइसकेको र खोजी तथा उद्धार कार्य जारी नै रहेको उनले बताए । घटनास्थलबाट घाइते अवस्थामा तीन जनालाई उद्धार गरिसकिएको छ ।

ती मध्ये एक जनाको शरीरमा १५ प्रतिशत जति जलेर घाइते भएका छन् । अन्य दुई जना भने सामान्य जलेको र उनीहरु सवैको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

रातको समयमा विद्युतको लाइनमा समस्या आएपछि सो आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको कुमारले जानकारी दिए ।

तर यथार्थ पत्ता लगाउन अनुसन्धान प्रक्रिया अगाडी बढाईसकिएको उनले बताए । भारतको केन्द्रीय राजधानी सहर नयाँदिल्लीमा यसै महिना भएको यो दोस्रो आगलागीको घटना हो ।

यसअघि डिसेम्बर ८ तारिखका दिन पनि नयाँ दिल्लीमा ठूलो आगलागीको घटना भएको थियो । सो घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । 

मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेका थिए । नयाँ दिल्लीको फिल्मिस्तान क्षेत्रमा रहेको घरमा आगलागी भएको थियो ।

घटनामा पिडितहरुलाई केन्द्रिय तथा राज्य सरकारले राहतको घोषणा गरेका थिए भने, अनुसन्धानका लागि टोली पनि परिचालन गरेका थिए । रासस