दीपक श्रेष्ठ
काठमाडौं । तपाईंले चलाउने सवारी साधनमा कुनै कम्पनीको विज्ञापन सामग्रीको बोर्ड वा स्टिकर छ ? यदि छ भने अबदेखि पोस्टर टाँसेबापत कर तिर्नुपर्ने भएको छ ।
सवारी साधनमा व्यापारिक प्रायोजनका स्टिकर टाँस्नुअघि स्थानीय तहको तोकेको कर तिर्नुपर्छ । ललितपुर महानगरपालिकाले ट्याक्सीमा विभिन्न कम्पनीको विज्ञापन राखेर चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको छ ।
कर छली गरेको भन्दै चालकलाई महानगरले नियन्त्रण लिन थालेको हो । कर नतिर्ने ट्याक्सीलाई नियन्त्रणमा लिएर करको दायरामा ल्याउन सुरु गरिएको महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथु बताउनुहुन्छ ।
‘सानो–सानो बोर्ड राखेको त कर तिनुपर्छ भने ठूलो विज्ञापन राखेर महानगरभरी डुल्नेलाई किन करको दायरमा नल्याउने ?’, हाछेथु प्रश्न गर्नुहुन्छ ।
महानगरले यस प्रकृतिको कर अनिवार्य गर्दै स्थानीय राजपत्रमा समेत सूचना निकालेको थियो । तर, यो जानकारी ट्याक्सी चालकहरूलाई थिएन । महानगर प्रहरीले विना सूचना आफूलाई नियन्त्रणमा लिएको ट्याक्सी चालकको गुनासो छ ।
महानगर प्रहरी प्रमुख हाछेथु भने साउन महिनाको पहिलो सातादेखि आफूहरूले करको सन्दर्भमा जानकारी गराएको दावी गर्नुहुन्छ । अनलाइन र विभिन्न सञ्चारमाध्यमबाट आफूहरूले करको सन्दर्भमा जानकारी गराएको उहाँ बताउनुहुन्छ ।
सवारी साधनमा राखिएका स्टिकर वा ब्यानरका लागि प्रति वर्गफिट एक सय रूपैयाँ कर लिन थालिएको छ । कर नतिर्ने सबै प्रकारका सवारी साधनलाई करको दायरामा ल्याउने महानगरपालिकाको योजना छ । यसका लागि सबै प्रकारका सवारीसाधनको अनुगमन पनि गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्