काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रबाट सडक बालबालिका र कुलतमा फसेका किशोर किशोरीको उद्धारलाई राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रले निरन्तरता दिएका छन् ।
दिउँसो मात्र नभइ रातको समयमा समेत उद्धार गरी यस्ता किशोर किशोरीको जीवन व्यवहारिक रुपमा सहज बनाउने प्रयास भैरहेको छ । यस्तो प्रयासले सडक बालबालिकाको संख्यामा केही हदसम्म कमी आएको छ ।
काठमाडौंको कठ्याङग्रिदो मौसम, त्यसमाथि पनि रातको समय, घर परिवारसंगै न्यानोमा बस्ने, खाने रहर जोकोहीलाई हुनु स्वाभाविकै हो ।
तर यो शहरमा यस्ता बालबालिका पनि भेटिन्छन् जो सडकमा रात बिताउन बाध्य छन् । विभिन्न बाध्यता वा बहानामा सडक पुगेका बालबालिकालाई सडकको बास छुटाउन खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको टोली सक्रिय छ ।
तर यसरी उद्धार गर्दा विभिन्न अवरोध पनि झेल्नु परेको छ उनीहरुले । उद्धारको प्रयास गर्दा सडक बालबालिका अनेक बहाना बनाइ फुत्किन समेत खोज्छन् । कति त टोलीका सदस्य माथिनै हातपातमा उत्रन समेत पछि पर्दैनन् ।
उद्धारका लागि पुग्दा कोही सडक पेटीमा हिंडिरहेका त कोही टोलीको आँखा छल्न मन्दिर परिसरमा पनि पुगेको देखिन्छन् । उनीहरुमध्ये अधिकांशलाई उद्धारबारे जानकारी भएपनि प्रहरीको आँखा छल्ने प्रयास हुनेगर्छ ।
उद्धार अघि राष्ट्रिय बालअधिकार परिसर र बालबालिका खोजतलास केन्द्रले उद्धारलाई चुस्तदुरुस्त गर्ने भन्नेबारे टोली सदस्यहरुलाई ब्रिफिङ समेत गर्ने गर्दछ । उद्धार गरिएका किशोरीहरु मध्ये अधिकांश यौन व्यवसायमा संलग्न रहेको पाइएको छ ।
पटक पटक प्रहरीको नियन्त्रणमा पर्ने गरेपनि पछि उनीहरु सडकमै आउने गरेकाले अभियानमा थप चुनौती थपिएको देखिन्छ ।
उद्धारपछि सडक बालबालिकाका घर परिवारले पुनः सडकमा नफर्काउने बाचा गरेपनि उनीहरु सडकमै फर्किने गरेको पनि भेटिएका छन् ।
पछिल्लो समय काठमाडौं महानगरपलिकाले प्रहरीको समन्वयमा मागेर जीवन यापन गरेका र सडक पेटीमै रात काटेका व्यक्तिहरुलाई उद्धार गरी मानवसेवा आश्रममा संरक्षण दिने गरेको छ ।
उद्धार अभियान आफैमा चूनौतिपूर्ण छ नै उद्धार पछि उनीहरुको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण छ । तर पनि सडकलाई कसैले पनि बासस्थान बनाउन नपरोस् भनी उद्धार अभियान भने निरन्तर चलिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्