१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


मकाउ जाने नेपालीलाई झन्झट : हङकङको ट्रान्जिट भिसा ब्यवस्था गर्न माग


0
Shares

काठमाडौं । कामको सिलसिलामा मकाउमा रहेका नेपालीहरुका लागि हङकङको ट्रान्जिट भिसा सहज नहुँदा आउजाउमा झन्झट ब्यवहोर्दै आइरहेका छन् ।

उक्त विषयलाई लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँड, नेपाल चेम्बर अफ कमर्स मकाउका अध्यक्ष शुदर्शन थापा मगर नेतृत्वको टोलीले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ । उनीहरुले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई भेटी समस्याका बारेमा ध्यानाकर्षण गराए ।

चार हजारबढी नेपाली युवाहरु वर्क परमिट प्राप्त गरी मकाउमा कार्यरत रहेपनि काठमाडौं–मकाउ सोझो हवाइ उडान नहुँदा स्वेदश फर्कदा पर्ने समस्याका बारेमा सदनमा जानकारी गराइ समस्या समाधानका लागि पहल गर्न टोलीले माग गरेको हो ।

भेटका अवसरमा मन्त्री ज्ञवालीले समस्यालाई गम्भीरताका साथ लिंदै सम्बन्धित बिषयमा कसरी सजिलो र छिटो तवरले समस्या समाधान हुनेछ भन्ने बारेमा छलफल गरी निष्कर्ष निकाल्ने मन्त्रीले बचन दिनुभएको नेपाल चेम्बर अफ कमर्स मकाउ अध्यक्ष थापाले जानकारी गराए ।

मन्त्री ज्ञवालीलाई लिखित पत्र बुझाउन प्रमुख सचेतक खाणसहित कांग्रेस महासमिति सदस्य जन्मजय तिमिल्सिना, तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङ, नेपाल मकाउ चेम्बर अफ कमर्शका अध्यक्ष पुगेका थिए ।

टोलीले काठमाडौं–मकाउ जाँदा आउँदा हङकङमा ट्रान्जिट भिसा उपलब्ध गराउनका लागि माग गरेको हो ।

चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा नेपालकै कुटनीतिक कमजोरीका कारण नेपालीहरुले दुःख पाउँदै आइरहेका छन् ।