Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


अमलेखगञ्जमा खानेपानीको हाहाकार, बसाइ सर्ने क्रम तीव्र, पर्यटकपनि प्रभावित, पानीकालागि राणाकालमै निर्माण भएका मुहान र ट्यांकीकै भर (भिडियोसहित)


0
Shares

 – प्रकाश लम्साल ईमेज 

बारा, पुस ६ । ऐतिहासिक तथा पर्यटकीयस्थल अमलेखगञ्जमा पानीकोे समस्या भयावह हुँदै गएपछि स्थानीयले गाउँ नै छाड्न थालेका छन् ।

पानीका स्रोत सुक्दै गएको र अरु विकल्प नपाएपछि बसाइसराइ गरेर जाने क्रम तीव्र रुपमा बढिरहेको हो ।

बारा जिल्लामा अवस्थित अमलेखगञ्ज खानेपानीको व्यवस्था गर्न राणा प्रधानमन्त्री देव शमशेरको पालामा खानेपानीको ट्यांकी निर्माण गरिएको थियो ।

चुरेको काखमा रहेको अमलेखगञ्जमा खानेपानीका लािग सोही ट्यांकीमै भर पर्नुपर्ने अवस्था छ ।

पहिले दैनिक २४ लाख लिटर पानी संकलित हुने ट्यांकीमा पानीका मुहानहरु सुक्दै गएपछि अहिले दैनिक डेढ लाख लिटरको हाराहारीमा मात्र पानी जम्मा हुने गरेको छ ।

खानेपानीको वितरणका लागि स्थानीय स्तरमा खानेपानी, सरसफाई तथा उपभोक्ता समिति नै गठन गरिएको छ ।

संकलित पानी बिहान बेलुका १-१ घण्टा वितरण गर्दा ट्यांकी नै रित्तिने गरेको छ ।

ऐतिहासिक र पर्यटकीय क्षेत्र भए पनि खानेपानीको व्यवस्थाका लागि तिनै तहका सरकारले खासै चासो नदेखाउँदा विस्थापित हुने क्रम बढीरहेको खानेपानी सरसफाइ तथा उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछानेको भनाइ छ ।

खानेपानीको समस्यालाई टार्न केही समयअघि प्राविधिकहरुको टोलीले १८ हजार फिट गहिराइसम्म खनेर पानी निकाल्ने प्रयास गरे पनि नभेटिएको अमलेखगञ्ज वडा कार्यालयले जनाएको छ ।

पर्यटकीय स्थलका रूपमा रहेर पनि पानीका कारण अपेक्षित लाभ लिन सकिएको छैन । यहाँ सञ्चालनमा रहेका रिसोर्टहरुले पनि ट्यांकरबाट पानी  किनेर पानीको समस्या टारिरहेका छन् ।

पानीकै अभावमा हप्तामा १ पटक नुहाउने र १५ दिनमा कपडा धुने गर्नुपर्ने अवस्था रहेकाले पर्यटकहरुलाई समेत निकै समस्या हुने गरेको स्थानीय सुकमाया वाइवा बताउँछिन् ।

पर्यटन विकासको ठूलो संभावना बोकेको यस क्षेत्रमा तिनै तहका सरकारले खानेपानीको समस्या समाधानका लागि तत्कालै ठोस कदम चाल्नुपर्ने देखिएको छ ।