अक्कल कुँवर
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार नेपालसँग परिचित अमेरिकी कुटनीतिज्ञको नाम हो । भारतीय मूलकी ४२ वर्षीया सुमारको यो चौथो नेपाल भ्रमण हो ।
यसअघि २०७२ मा गएको भूकम्पपछि पुनर्निर्माणको काम सघाउने उद्देश्यले सुमार नेपाल आउनुभएको थियो । यसपटक बहुचर्चित एमसीसी परियोजना कार्यान्वयन गराउने सिलसिलामा उच्च राजनीतिक भेटघाटका लागि उहाँ नेपाल आउनुभएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सुमारलाई गत फेब्रुअरीमा कम्प्याक्ट अपरेशन विभागको उपाध्यक्ष नियुक्त गर्नुभएको थियो । यसअघि पनि सुमार सन् २०१५ देखि २०१८ सम्म एमसीसीमा एशिया, यूरोप, प्यासिफिक र ल्याटिन अमेरिका क्षेत्रीय उपाध्यक्षका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
सन २०१८ मा एमसीसी छोडेर अक्सफामको उपाध्यक्षमा कार्यरत सुमारलाई बाइडेन प्रशासनले फेरि अमेरिकी सरकारको मुख्यालय क्यापिटल हिल प्रवेश गराएको हो । अन्तर्राष्ट्रिय विकास, वैदेशिक नीति, कूटनीतिजस्ता विषयमा उहाँको दक्षता रहेको एमसीसीको आधिकारिक वेबसाइटमा उल्लेख छ ।
यसअघि एमसीसीको क्षेत्रीय उपाध्यक्ष रहँदा सुमारले नेपाल सहित श्रीलंका, मंगोलिया, जोर्डन, फिलिपिन्स, इन्डोनेसिया, जर्जिया, कोसोभो, माल्दोभा र एल साल्भाडोरमा सम्झौताका विषयमा काम गर्नुभएको थियो । अमेरिकी कुटनीतिमा लामो अनुभवप्राप्त सुमारले सन् २००९ देखि २०१३ सम्म अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिमा दक्षिण र मध्यएशिया हेर्ने गरी काम गर्नुभयो ।
अमेरिकाको ख्याति प्राप्त प्रिन्सटन विश्वविद्यालयको पब्लिक एण्ड इन्टरनेशनल अफेयर्स स्कूलबाट स्नातकोत्तर सुमारले शैक्षिक उपलब्धिका लागि सम्मानित अवार्ड पाउनुभएको थियो । भारतीय मुस्लिम बाबुकी छोरी सुमारका तीन सन्तान छन् ।
प्रतिक्रिया दिनुहोस्