Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


एमालेले असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्यो– गगन थापा


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा एमालेले संसदीय व्यवस्था भित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गरेको बताउनुभयो ।

शुक्रबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग सांसद थापाले यस्तो बताउनुभएको हो । नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिन भनुन्जेल संसदमा यस्तै कोलाहल भइरहने उहाँले बताउनुभयो ।

सांसद थापाले भन्नभुयो, ‘हाम्रो संसदीय अभ्यासको क्रममा आज अस्तिको बैठकमा जे भयो, यो सुःखद् कुरा होइन, तर यसको कारण नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय व्यवस्था भित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने, आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्न खोज्दा यो स्थिति आएको छ ।’

उहाँले थप्नुभयो, ‘सरकारको कुनै एउटा निश्चित निर्णयका विषयलाई लिएर हामी संसद अवरुद्ध गर्दछौं भन्ने अवस्था भएकोले हाम्रो बल पनि प्रतिपक्षसँग संवाद गरेर हल गरेर मात्रै गर्नुपर्छ भन्नेमा हुन्थ्यो तर सभामुख नै मान्दिन सांसद नै मान्दिन, यो संसद भित्र आएको सदस्यलाई म चिन्दै चिन्दिन, त्यसको आधारमा संसद चल्न दिन्न भनेपछि यहाँ कसैले पनि संवाद गरेर यसको हल निकाल्न सक्दैन, त्यसकारणले यो स्थिती आएको हो ।’

एमालेले सभामुख र सांसदलाई नमान्ने अवस्था आएसम्म यस्तै भइरहने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘म पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई के स्मरण गराउन चाहन्छु भने यसैगरी उहाँले संसद भित्र पारित गर्नुभएको विधेयक पारित गर्दै गर्दाको अवस्था स्मरण गराउन चाहन्छु, उहाँले त्यो दिनलाई स्मरण गर्न सक्नुपर्छ, जुन दिनसम्म उहाँहरु सभामुखलाई मान्दिन, यो संसद, संविधान, ऐन, नियम, कानूनले चिनेको मान्दिन भन्नुहुन्छ त्यो दिनसम्म संसद यसरी चल्ने भन्दा अर्कोबाटो देख्दिन ।’