६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


ईमेज च्यानल टेलिभिजन ‘एचडी’मा: प्रधानमन्त्री देउवासहितका नेताको शुभकामना, सञ्चार क्षेत्रमा ईमेजले खेलेको भूमिकाको प्रशंसा


0
Shares

काठमाडौं, भदौं २५ । निजी क्षेत्रको पहिलो नेपाली टेलिभिजन ईमेज च्यानलले औपचारिक रुपमा एचडी प्रविधिमार्फत प्रशारण थालेकामा प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरुले शुभकामना दिनुभएको छ ।

शुक्रबार एचडी शुभारम्भको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले नेपाली सञ्चार क्षेत्रमा ईमेज च्यानलले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको हो ।

एक सन्देश दिँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘ईमेज च्यानलले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा टेलिभिजन प्रशारणको गुणस्तरलाई एचडी (आई–डिफिनेसन) मा स्तरोन्नती गर्न लागेकामा मलाई खुशी लागेको छ । निजी क्षेत्रको पहिलो टेलिभिजन च्यानलको रुपमा स्थापना भएको ईमेज च्यानलले प्रविधिको विकाससँगै आफूलाई परिमार्जन गर्दै नयाँ प्रविधिमा प्रवेश गरेको छ ।’

लोकतन्त्रलाई सुदृढ बनाउँदै समतामूलक समाज निर्माणमा ईमेज च्यानलले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सन्देशमा भन्नुभएको छ, ‘सञ्चार क्षेत्रको विकासमा निजी क्षेत्रको पहिलो टेलिभिजनको रुपमा ईमेज च्यानलले खेलेको भूमिका प्रशंसनीय छ ।’

आगामी दिनमा दर्शकहरुको आवश्यकतालाई मध्यनजर गर्दै ईमेज च्यानल थप जिम्मेवारीका साथ अघि बढ्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भन्नुभएको छ, ‘स्थापनाको २५ वर्षको अवसरमा एचडी प्रविधिमा प्रवेश गरेकोमा ईमेज च्यानलका सञ्चालक, पत्रकारलगायत सम्पूर्ण कर्मचारीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

यसैगरी, सभामुख अग्नि सापकोटाले शुभकामना सन्दैश दिँदै २५ वर्षदेखि ईमेज च्यानलले नेपाली सञ्चार क्षेत्रको विकासका लागि खेलेको भूमिको प्रशंसा गर्नुभएको छ ।

नेपालको लोकतन्त्रको सृदृढीकरणका लागि ईमेज च्यानलले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा देश र जनताको पक्षमा अझै धेरै विम्मेवारीका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले इमेज च्यानलले नेपाली जनताको सुसूचित हुने अधिकारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा बटुल्न सकेको उल्लेख गर्नुभयो ।

पूर्व प्रधानमन्त्री माधव नेपालले ईमेज च्यानलले लोकतन्त्रको स्थापना र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा नागरिकको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ईमेज च्यानलले २५ वर्षदेखि नागरिकको सूचनाको हकका लागि काम गरेको भन्दै आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्न सकोस् भन्ने शुभकाममना दिनुभयो ।

यस्तै, नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली सञ्चार जगतमा अलग्गै पहिचान बनाएको नेपालकाे निजी क्षेत्रकाे पहिलाे टेलिभिजन ईमेज च्यानलले एचडी प्रशारण शुरू गरेकामा बधाई दिँदै सफलताको शुभकामना व्यक्त गर्दछु ।

यसैगरी विभिन्न पार्टीका नेताहरु, समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले ईमेज च्यानल एचडी प्रविधिमा रुपान्तरण भएकमामा शुभकामना दिनुभयो ।

पहिलो पटक २०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट दर्शकमाझ पुगेको ईमेज च्यानलले प्रशारणको ५ वर्षपछि २०५९ साल माघ १७ गतेदेखि काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेष्ट्रियल माध्यमबाट ईमेज मेट्रो च्यानल प्रशारण गरेको थियो ।

त्यसको चार वर्षपछि लोकतन्त्रको विहानीसँगै २०६३ माघ ११ गतेदेखि इमेज च्यानलले स्याटेलाइटमार्फत आफ्नो प्रसारणलाई विश्वभर जोड्यो ।

ईमेज च्यानलका इमेज एफ एम ९७.९ र इमेज न्यूज एफएम १०३.६ दुई एफएम रेडियो तथा इमेजखबर डट कम अनलाइन न्यूज पोर्टल प्रशारणमा रहेका छन् ।