१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


कोरोनाको तेस्रो लहरको तयारीमा कञ्चनपुर


0
Shares

दुर्गा उपाध्याय
कञ्चनपुर, भदौ २४ । पहिलो भन्दा दोस्रो चरणमा कोरोनाको संक्रमण र मृत्युदर बढेपछि पुराना सिकाइको आधारमा कञ्चनपुरमा तेस्रो लहरको तयारी थालिएको छ ।

कञ्चनपुरमा पहिलो चरणमा भारत वा विदेशबाट आएकाहरुलाई छुट्टै (संस्थागत) आइसोलेसन र क्वारेन्टीनमा राखिएको थियो । यसरी आइसोलेसनमा राखिएकालाई पीसीआर परीक्षणपछि मात्रै घर पठाउने गरिन्थ्यो । तर दोस्रो चरणमा भने संक्रमण देखिएका व्यक्तिहरुलाई समेत होम आइसोलेसनमा राखियो ।

जसले गर्दा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिनुका साथै होमआइसोलेसनको मापदण्ड समेत पालना हुन सकेन् । फलस्वरुप पहिलो चरणको तुलनामा दोस्रो चरणमा कोरोना संक्रमित र मृतकको संख्या बढ्न गयो ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले कोरोना संक्रमणबाट हालसम्म एक सय ९१ जनाको मृत्यु भएको जनाएको छ । जसमध्ये पहिलो चरणमा कोरोनाका कारण १६ जनाको मृत्यु भएको थियो । यस्तै, कञ्चनपुरमा ८ हजार ४ सय ५५ जना कोरोनाबाट संक्रमित भएका थिए ।

अहिले पहिलो र दोस्रो चरणलाई मध्यनजर गर्दै कञ्चनपुरमा संस्थागत आइसोलेसन र क्वारेन्टीनमा जोड दिइएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो ।

यता, कोराना संक्रमण रोकथामका लागि संघ सरकारको पहलमा नाकाहरुमा होल्डिङ् सेन्टरको निर्माण भइरहेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारी र गौरीफन्टा नाकामा एक–एक हजार शैय्याका होल्डिङ् सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पालिकाहरुमा पनि पाँचदेखि १५ शैय्यासम्मका कोभिड अस्पताल निर्माण गरिएका छन् । कोरोनाको तेस्रो लहर रोकथामका लागि स्थानीय, प्रदेश र संघ सरकारले हातेमालो गर्दै तयारीमा जुटेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको भनाइ छ ।

कोरोनाको तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुने बताइएसँगै यतिबेला जिल्लाहरुमा प्रदेश सरकारले बाल कोभिड अस्पताल निर्माणका लागि बजेटसमेत विनियोजन गरिसकेको छ । जसअन्र्तगत महाकाली प्रादेशिक अस्पतालमा पनि ४५ दिनभित्रै सम्पन्न गरिसक्ने गरि सम्झौता भएको छ ।

उसो त, महाकाली प्रादेशिक अस्पताललाई भौतिक स्रोतसाधनले सम्पन्न अस्पताल मानिन्छ । तर दरबन्दी अनुसार दक्ष चिकित्सक र प्राविधिक नहुँदा कोरोनालगायत अन्य बिरामीको उपचारमा समस्या हुने गरेको बताउनुहुन्छ अस्पतालका निमित्त सुपरिटेण्डेन डाक्टर हरिकुमार श्रेष्ठ बताउनुहुन्छ ।

त्यसैले दोस्रो चरणको कोरोना संक्रमण अन्तिम अवस्थामा रहेकैबेला कञ्चनपुरमा थालिएको कोरोनाको तेस्रो लहरको पूर्वतयारीबाट अरुलेपनि पाठ सिक्नु पर्ने देखिन्छ ।