
इमेज जिल्ला ब्यूरो
काठमाडौं, पुस ४ । केही दिनयता बढेको शीतलहर र हिमपातका कारण तराई तथा हिमाली क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ ।
अत्यधिक चिसोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा मारमा परेका छन् । जसका कारण अस्पतालमा पनि बिरामीको चाप बढ्न थालेको छ ।
विगतका वर्षहरुका तुलनामा यो वर्ष तराईमा एक महिनाअघि नै शीतलहर देखापरेको छ ।
बाक्लो हुस्सुले आकाश ढाकेका कारण तराइवासीले केही दिनयता घामसमेत देख्न पाएका छैनन् ।
कैलाली, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लाहरुमा शीतलहरको प्रभाव बढी देखिएको छ ।
यस्तै, मध्य तराई र पूर्वी तराईका केही ठाउँमा पनि हुस्सु र कुहिरोसँगै पानीका थोपा झर्न थालेको छ ।
मौसमविद्काअनुसार अझै एक/दुई दिन यी क्षेत्रमा शीतलहर कायम रहनेछ ।
हुस्सुले गर्दा बाटो स्पस्ट नदेखिने भएकाले सडक दुर्घटनाको जोखिमसमेत बढेको सर्लाहीका प्रहरी सहायक निरीक्षक परशुराम घिमिरे बताउँछन् ।
बाक्लो तथा न्यानो लत्ताकपडा पर्याप्त नहुँदा विपन्न परिवारका वृद्धवृद्धा र बालबालिका चिसोका कारण बढी प्रताडित बनेका हुन् ।
रिक्सा र टाँगा चलाएर तथा खेतबारीको काम गरेर दैनिकी टार्नुपर्ने विपन्न वर्गलाई चिसोको मार परेको हो ।
अत्यधिक चिसोका कारण विद्यार्थीको उपस्थिति न्यून भएपछि कतिपय ठाउँमा शैक्षिक संस्था पनि बन्द गरिएको छ ।
चिसो बढेसँगै स्वास्थ्य संस्थामा निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप बढ्न थालेको ब्रह्म भूमि हेल्थ रिसर्च सेन्टर सर्लाहीका डा. दीपनारायण झाको भनाइ छ ।
अर्कोतिर शीतलहरकै कारण बजारमा किनमेल गर्नेहरुको चहलपहलसमेत ह्वात्तै घटेको छ ।
शीतलहरको प्रभाव बालीनालीमासमेत परेको छ । शीतलहरका कारण आलु, गोलभेडा, तोरीलगायतका तरकारी बालीमा रोगको समस्या देखिएपछि किसान चिन्तित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्