Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


सामाजिक सुरक्षा कोषमा आबद्ध नभए कारबाहीमा जाने चेतावनी


0
Shares

काठमाडौं, पुस ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा योजनामा आबद्ध हुन पुनः आह्वान गरेको छ ।

मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकको खाइपाइ आएको सुविधामा कुनै कमी नहुने प्रस्ट पार्दै आबद्धताका लागि आग्रह गरेको हो ।

योजनामा सहभागी हुँदा खाइपाइ आएको सुविधा घट्छ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको उल्लेख गर्दै मन्त्रालयले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनबाट श्रमिकको पारिश्रमिक एवं सुविधामा कुनै प्रतिकूल प्रभाव नपर्ने जनाएको हो ।

‘श्रम ऐन, २०७४ को दफा ३ मा व्यवस्था भएका विषय न्यूनतम् मापदन्डको रुपमा रहने प्रावधान भएको हुँदा हाल खाइपाइ आएको सुविधा घट्ने प्रश्नै नउठ्ने’ मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले योजनामा सहभागी हुन गएको मंसिर १४ गतेसम्मका लागि औपचारिक समयावधि तोकेको थियो ।

मन्त्रालयले सामाजिक सुरक्षा योजनाबाट प्राप्त हुने सेवा–सुविधा र अन्य कोषबाट प्राप्त हुने प्रतिफलको तुलना हुनै नसक्ने पनि जनाएको छ ।

कोषबाट प्राप्त हुने सुविधालाई कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषले दिने सुविधासँग तुलना गर्नु युक्तिसंगत नभएको पनि मन्त्रालयको ठहर छ ।

योजनामा सहभागी योगदानकर्तालाई दोहोरो करको भार नपरोस् भनेर अर्थ मन्त्रालयसँग समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

सामाजिक सुरक्षा कोष कर्जा प्रवाहका लागि स्थापित कोष नभएता पनि योगदानकर्ताको तत्कालको खाँचो टार्न सहयोग पुर्‍याउने उद्देश्यले कर्जा सुविधा उपलब्ध गराउनका लागि लगानी योजना निर्देशिका तर्जुमाको अन्तिम चरणमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सामाजिक सुरक्षा योजनामा आबद्ध हुने विषय ऐच्छिक नभएको पुनः प्रस्ट पार्दै कोषमा सूचीकरण हुन आलटाल गर्नेलाई कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।