काठमाडौं, भदौ २२ । बुधबारदेखि सुरु हुने संघीय संसदको दुवै सदनको अधिवेशनका लागि संसद सचिवालयले सम्पूर्ण तयारी सकेको छ ।
सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ ।
यसपटक संघीय संसदमा नेकपा (एमाले) बिभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिने छन् । संसदमा दुई दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाइसकिएको जनाएको छ ।
भोलिको बैठकमा सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश पेश हुने संसद सचिवालयले जनाएको छ । त्यसको अलावा शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको जनाइएको छ ।
संसदको यस अधिवेशनमा संसदमा पेश भइसकेका १३ वटा अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको पनि संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्