Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


सिट क्षमता भन्दा बढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला ?


0
Shares

दमौली, पुस ३ । दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चढाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

धादिङबाट पोखरा जाँदै गरेको बा ६ च ५१७५ नंको टाटा जिपको पछाडि २१ जना यात्रु भेटिएपछि प्रहरीले कारवाही गरेको हो ।

सामान ढुवानी गर्ने उद्देश्यले दर्ता भएको उक्त सवारीसाधनले पछाडिको भागमा पाल टाँगेर यात्रु बोकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

“उक्त जिपले मान्छे बोक्न पाउँदैन, सामान ढुवानी गर्ने मात्र हो”, उनले भने, “सवारी ऐन दर्ताविपरीत ढुवानीमा दर्ता भएको जिपले मान्छे बोकेपछि कारवाहीका लागि नियन्त्रणमा लिएका हौँ ।”

विवाहमा जाँदै गरेको  जिपलाई नियन्त्रणमा लिएपछि प्रहरीले नै अर्को सवारी व्यवस्था गरेर यात्रुलाई गन्तव्यस्थलसम्म पुर्‍याएको जनाएको छ  ।

यसैगरी प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेको ग १ ख ९५५५ नंको बसलाई नियन्त्रणमा लिएको छ ।

व्यास नगरपालिका–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयले शैक्षिक भ्रमण लैजाने क्रममा २६ जना क्षमताको सिटमा ६० जना विद्यार्थी राखेपछि बसलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले दुई वटा बस खोेजेर विद्यार्थीलाई भ्रमण लैजाने व्यवस्था समेत मिलाइदिएको थियो ।

क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम रहेकाले सवारी जाँचलाई तीव्र पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए । रासस