डोलराज रानाभाट
चितवन । एक सिँङ्गे गैँडाका लागि प्रख्यात मानिएको चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै साँढे ४ करोडको बजेटमा २ हजार ४३ हेक्टर नयाँ घाँसे मैदान निर्माण गरेको छ भने ६ सय ७ हेक्टर पुरानै घाँसे मैदानलाई व्यवस्थापन गरेको छ ।
निकुञ्ज स्थापनाकालदेखिनै घाँसे मैदान निर्माण गर्दै आइरहेको भएपनि आर्थिक वर्ष २०७५/०७६ देखि भने वन मन्त्रालयले ठूलो आकारमा बजेट विनियोजन गरी घाँसे मैदान र पानी पोखरी निर्माणलाई जोड दिइरहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।
करिव ३ हजार हेक्टर घाँसे मैदान निर्माण तथा व्यवस्थापन गर्ने लक्ष्य राखेपनि २६ सय ५० हेक्टरमा काम हुँदा हरियो पालुवाहरु यतिवेला लोभ लाग्दो देखिएको छ । सवैतिर नयाँ पालुवा सहित हरियो घाँसे मैदानमा वन्यजन्तु मस्त खेलिरहेका छन् । घाँसे मैदान व्यस्थित हुँदा यसले मानव वन्यजन्तु द्वन्द्व घटाउने मात्रै होइन खेतीवालीमा पुर्याउने क्षतीमा समेत कमी हुने बताउनुहुन्छ निकुञ्जका प्रमुख संरक्षण अधिृकत अणनाथ बराल ।
९५२ दशमलव ६२ स्क्वायर किलोमिटर क्षेत्रफलको निकुञ्जले कसरालाई सेन्टर मानेर पूर्व र पश्चिमतर्फ आधा आधा जस्तै क्षेत्रफलमा घाँसे मैदान बनाएको हो भने ६७ लाख बजेटमा १६ वटा नयाँ पानीपोखरी निर्माण गरिएको छ । सोही बजेटमा ३५ वटा पुरानै पानी पोखरीलाई समते मर्मत सम्भार गरिएको छ। त्यस्तै चार वटा पानी पोखरीमा पानी सुक्न नदिनेगरी सोलार सहितको बोरिङ त जडान गरिएको छ । मिचाहा प्रजातीलाई नष्ट गर्दै चर्दाचर्दै लुक्न मिल्ने थुम्काहरु समेत राखेर बुढा र सुकेका रुखहरु हटाउँदै घाँसे मैदान निर्माण गरिन्छ ।
खाने र आहाल खेल्ने ठाउँ नभए वन्यजन्तु बाच्नै नसक्ने हुँदा पनि निकुञ्जले यसको विकास र विस्तारमा जोड दिएको छ । खरिद ऐनमा सुधार गरी टेण्डर प्रकृया सहज भइदिए अझ धेरै काम गर्ने सक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत बराल बताउनुहुन्छ । गत आर्थिक वर्ष २०७७/०७८ मा वन्यजन्तुको आक्रमणबाट १२ जना मध्यवर्ती क्षेत्रका स्थानीयले ज्यान गुमाएको र ४५ जना घाइते भएको तथ्याङ छ । यो सहितको वन्यजन्तुबाट हुने घटनाबाट भएका क्षतीमा २ करोड ५ लाख ८ हजार ७९० क्षर्तीपूर्ति मात्रै उपलब्ध गराइएको छ । घाँसे मैदान र पानी पोखरी निर्माण र व्यवस्थापनले गैँडा,हात्ती बाघ जस्ता वन्यजन्तुको आक्रमणबाट हुने क्षती कम हुने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्