Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


सडक दुर्घटनाको भयावह अवस्था : चालकलाई मात्र दोष लगाएर उम्कन नहुने


0
Shares

-सागर महत/ईमेज

अर्घाखाँची । पहाडी जिल्लाहरुमा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ ।

जसमध्ये अर्घाखाँचीमा मात्रै पछिल्ला केही वर्षको अवधिमा सयभन्दा बढी जनाले ज्यान गुमाइसकेका छन् ।

प्रहरीको तथ्यांकअनुसार प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा सडक दुर्घटनाको अवस्था चिन्ताजनक देखिएको छ ।

जसमा विगत ८ वर्षको अवधिमा भएका  १ सय ४२ सवारी दुर्घटनामा १ सय ५० जनाको मुत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा २ सय ६३ गम्भीर र ३ सय ५ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय गत मंसिर ११ गते नरपानीमा भएको दुर्घटनाको पीडा अझै मत्थर हुन सकेको छैन ।

जसमा १९ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । सडक दुर्घटनालाई सामान्य ठान्ने प्रवृत्ति रहे पनि यसमा भने छानबिन समिति गठन गरिएको थियो ।

समितिले चालकको लापरबाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा बताउँछन् ।

सन्धिखर्क– गोरुसिंगे सडकखण्डअन्तर्गत नरपानीको करिब १२ किमी क्षेत्रमा वर्सेनी ठूलाठूला दुर्घटना हुने गरेका छन् ।

सो क्षेत्रमा छोटाछोटा घुम्ती भएको साथै चालकको लापरबाहीका कारण पनि दुर्घटना हुने गरेको स्थानीय दिनेश सुनारको भनाइ छ ।  नरपानी क्षेत्रमा शिवपुर सडक डिभिजन कार्यालयले घुम्ती काट्न सुरु गरेको छ ।

एउटै क्षेत्रमा पटकपटक दुर्घटना हुने गरेको भए पनि सडक सुधार नगरी चालककै लापरबाहीलाई मात्रै दुर्घटनाको कारण देखाइएको छ ।