
-दुर्गा उपाध्याय/ईमेज
कन्चनपुर । वि.स. २०७० सालमा दार्चुलामा आएको बाढीले भीमदत्त नगरपालिका–९ खल्लास्थित नेपाल–भारत सीमास्तम्भ ८१३ ढालेको छ वर्ष पुरा भएको छ ।
नदीभन्दा झण्डै ५० मिटर टाढा रहेको मुख्य सीमास्तम्भ बाढीले ढालेको छ वर्ष बितिसक्दा पनि जीर्णोद्धार हुन नसक्दा बगरमा पुरिँदै गएको छ ।
२०७० साल असारमा आएको बाढीले दार्चुलाको सदमुकाम मात्रै बगाएन, कञ्चनपुरसहित महाकाली नदीको तटीय क्षेत्रमा पनि ठूलो क्षति पुर्यायो ।
बाढीले भीमदत्त नगरपालिका–९ खल्लास्थित महाकाली नदीको बगरमा रहेको सीमास्तम्भ ८१३ लाई समेत बाँकी राखेन ।
बाढी र कटानीका कारण जोखिममा परेको उक्त सीमास्तम्भ मर्मतको पहल नहुँदा बगरमा अलपत्र अवस्थामा छ ।
यसबाहेकका अन्य सीमास्तम्भ पनि कुनै जीर्ण त कुनै हराइसकेका छन् ।
जसका कारण नेपाली पक्षले महाकाली नदीको पानीमा सीमास्तम्भ भएको दावी गरिरहेका छन् भने भारतीय पक्षले तटबन्धभन्दा करिब ६० मिटर नेपालतर्फ भएको बताउँदै आएको छ ।
सरकारले बेलैमा सीमास्तम्भ मर्मतका लागि पहल नगरे भारतीय पक्षले अतिक्रमण गर्न सक्ने स्थानीयको गुनासो छ ।
यता, सीमास्तम्भ ढलेसँगै भारतीयले नेपाली भूमीमा आएर अवैध रुपमा ढुङ्गा उत्खनन् गर्ने गरेका छन् । जसले गर्दा महाकाली नदीको धार परिवर्तन भई बस्ती नै बाढीको जोखिममा परेका छन् ।
यसअघि, खल्लाका स्थानीयले अवैध रुपमा ढुङ्गा उत्खनन् गरिरहेका भारतीय गाडी नियन्त्रणमा लिएर स्थानीय प्रशासनलाई बुझाएका थिए ।
त्यसयता, रातीको समयमा भारतीयले नदीबाट ढुङ्गा, गिट्टीको अवैध तस्करी गर्ने गरेको स्थानीयको भनाइ छ ।
उनीहरुले सीमास्तम्भ मर्मतका लागि सरकारले बेवास्ता गर्दा आफूहरुले भारतीयको ज्यादती सहनु परेको स्थानीयको गुनासो छ ।
कञ्चपुरमा रहेका ३ सय ८० सीमास्तम्भमध्ये ३६ वटा हराइरहेका छन् । यस्तै, २ सय १७ पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् ।
तर, सरकारले बेलैमा सीमास्तम्भ मर्मतकालागि चासो नदेखाउँदा कञ्चनपुरमा वर्षेनी सीमा विवाद हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्