पत्रकारिता, पर्चाकारिता र पार्टीकारिता ? « Image Khabar


पत्रकारिता, पर्चाकारिता र पार्टीकारिता ?


Border circle
Imagekhabar

पेशल आचार्य

२०५६ सालका तिरको घटना हो । एकजना भाइ नाताका पर्ने भर्खरका युवा पत्रकारिता गर्थे । तिनको रिपोर्टिङ्को विषय ‘क्राइम बिट’ थियो । त्यो बिटमा रिस्क र केही कमाइ पनि हुन्थ्यो भनेर उनी भन्थे । एकदिन एकजना मारबाडीको समाचार तिनको टेबलमा आइपुग्यो रे ! तिनी दोधारमा परे रे ! समाचार नलेखूँ अफिसमा आइपुगेको समाचार नबनाउँदा पत्रिकाले एक्सन लिने । लेख्दा मारबाडी रिसाउने भो । त्यो समाचार मारबाडीले गरेको दुई नम्बरी कामका बारेमा थियो । पछि ती भाइलाई ४ लाख अफर भएछ । ती भाइ समाचार नलेखी जागिरै छाडेर भागेछन् । अहिले तिनी युरोपतिर सानदार जीवन बिताइरहेका छन् । यो पत्रकारिता हो त ?

पत्रकारिता निमुखाहरूको भाषा हो । यसले छेउ लागेको वर्ग, गरिब, निमुखा र पछौटेहरूको कथाव्यथा जोडले बोल्नुपर्छ । तर अहिले जो सत्तामा छ जसको जहीँतहीँ पहूँच र राइँदाइँ छ उसकै मात्र समाचार लेखिएको-बोलिएको सुनिन्छ । आवाजविहीनहरूका लागि आवाज बन्न सकिरहेको छैन –वर्तमान पत्रकारिता । यो वर्तमान विज्ञान र प्रविधिले चकाचौंध भएको समयमा दुःखको कुरा हो । पत्रकारितालाई प्रविधि सहयोगी मात्र हो मुख्य कुरो त चेतना हो ।

पञ्चायत कालमा ‘मिसन पत्रकारिता’ थियो । सबै पत्रिकाहरू र सञ्चार साहूहरूको एकमात्र उद्देश्य पञ्चायतको अवसान र बहुदलीय व्यवस्थाको अभ्युदय नै हुन्थ्यो । मिसन भित्र पार्टीका आफ्ना कुराहरू भनिनै पथ्र्यो । एकताका काँग्रेसको कुरा राष्ट्रपुकार र कम्युनिष्टको कुरा समीक्षा साप्ताहिकमा आउँथे । त्यही नै आधिकारिक हुन्थ्यो । यसले कहिलेकाहीँ मिसन पत्रकारिता भित्र पनि पार्टीकारिता देखाउँछन् । अहिलेजस्ता च्याउसरी सबैखाले सञ्चार माध्यम, सञ्चारगृह र प्रतिष्ठानहरू स्थापना भैसकेका थिएनन् । अहिले त कालो धनलाई सेतो बनाउने सन्दर्भमा समेत सञ्चार उद्योगहरूमा लगानी गर्ने गरिएको छ भनेर सुन्नमा आउँछ ।

हिजोको जमाना अब इतिहास भयो । अहिले देशमा बहुदलीय शासन क्रियाशील छ । अझ भन्ने हो भने संघीय गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको छ । यतिखेर नेपालमा छापा, रेडियो, टिभि, एफ्एम् र अनलाइन गरी करिब १२ हजारका हाराहारीमा सञ्चारका साधनहरू छन् । यो संख्या भनेको यति सानो देशका लागि धेरै हो । तर अहिले समेत साँचो र सत्यतथ्य समाचार सुन्नका लागि संसार सुनेपछि पनि हामीले रेडियो नेपालकै आधिकारिकता र गोरखापत्रकै पुष्टि समाचार पढ्नुपर्ने बाध्यता छ । तर यो बाध्यता केही वर्षयता हट्दैहट्दै गएको छ ।

पत्रकारिताका तालिममा एउटा कुरा गज्जबले उठ्छ । अझै हामीले विकास, सुशासन, समृद्धि र निश्चित क्षेत्रलाई तोकेर ‘पकेट एरिया’ पत्रकारिताको फोकस गर्न सकिरहेका छैनौं । बिट तोकेर ठूला सञ्चार गृहहरूले स्पेसलाइजेसन बिटमा लेख्ने र छाप्ने अवसरहरू दिए पनि विकासका, विनाशका र रोजगारीका मुद्दामा या आदिवासी जनजाति र लोपोन्मुख जातिका हकमा फोकस गरेर पत्रकारिता गर्न अझै सकिएकै छैन ।

हुन त विशेष क्षेत्र र उद्देश्य तोकेरै अनलाइनहरू निस्केका छन् । छापा, रेडियो र टेलिभिजनहरूले भने सबैलाई एउटै भाँडोमा मिलाएर पकाउनु पर्ने बाध्यता छ । अझ यो कोरोना कालमा त सस्तोभन्दा सस्तो लगानीमा स्तरीय सामग्री उत्पादनका लागि पत्रकारहरूलाई चर्को दबाव दिने र उत्पादन गर्न नसक्ने परिस्थितिमा जागिरबाट हात समेत धुने स्थितिको सामना गर्नुप¥यो । धेरै चिने जानेका साथीहरू पत्रकारितालाई बाइबाई गर्दै घर फिरे । कतिपय त यो पेसाबाटै पलायन भएभने अझै पलायन हुने स्थिति बढेको छ ।

दिल्लीका नजिकै एउटा छप्रा भन्ने ठाउँ छ । केही दसक पहिले त्यो गाउँ नै थियो । त्यहाँ भारतका जानेमाने अखबारहरूले विकास पत्रकारिताका लागि एउटा प्रयोग गरे । यो सन् १९९० तिरको खबर हो । यिनेगिनेका सम्पादकहरूले राज्य संयन्त्रलाई झक्झक्याउन वा फेल भएको देखाउनका लागि मिसन बनाएर हरेक पत्रिकाहरूले ‘मेरा गाँव छप्रा’ भन्ने समाचार लेख्थे । जसमा कुनै अंकमा कसैले पानी, कसैले सञ्चार, कसैले विद्यालय र कसैले स्वास्थ्य चौकीका कुराहरू उठाउँथे । यो कुराले राज्य सरकार र केन्द्र सरकारलाई समेत तारन्तार दबाव पर्दै गयो । अर्को साल राज्य सरकार र केन्द्र सरकार दुवैले त्यो छप्रामा सबै विकासका बजेटहरू राख्न थाले । हुँदाहुँदा यो छप्रा दिल्लीको विकसित गाउँका रुपमा स्थापित भयो ।

पत्रपत्रिकाको शक्ति वर्तमान युगमा धेरै छ । एउटै कुरा सयचोटी भनिरह्यो भने त्यो असत्य कुरा भए पनि सत्य हुन्छ रे ! अझ पत्रकारहरूले बाइटहरू मिलाएर लेखिएका रोचक फिचर र सत्यतथ्यका साथ लेख्ने गरेका समाचारहरूले तहल्कै मच्चाउँछन् । यी त भए पत्रकारिताका सकारात्मक कुराहरू । पत्रकारिताभित्र ‘कल्मष’ र काला कर्तुतहरू समेत बग्रेल्ती छन् । समाचार प्राप्त गरेपछि पीडित वा अभियुक्तसँग सम्पर्क गर्ने, मौका परे धम्क्याउने, पैसा वा स्रोध साधन माग्ने गरेका अनेकौं कुराहरू समयसमयमा बाहिर आउँछन् ।

भारतका प्रधानमन्त्री स्व.राजीव गान्धी आफ्नो प्रधानमन्त्रीत्व कालमा अत्यन्त कम पत्रकारहरूसँग वार्तामा सामेल हुन्थे । उनी टिभिलाई ‘इडियट बक्स’ र पत्रकारहरूलाई जहिले शंकाको नजरले हेर्थे । हुन त भारतमा समेत युरोप अमेरिकातिर हुने ‘पापाराजी पत्रकारिता’ त्यो बेला भित्रिइसकेको थियो । सरकारले गरेका ससाना गल्ती, कमि, कमजोरीलाई समेत यमानका भ्वाङ् पारेर देखाइदिने, स्केण्डल मच्चाइदिने र हुँदै नभएका समाचारहरूलाई बढाइचढाई गरेर खेदो खन्ने प्रवृत्तिका पत्रकाहरूहलाई ‘पापाराजी’ भनिन्छ । यस्तै पापाराजीहरूले बेलायतकी अधिराजकुमारी प्रिन्सेस डायना र उनका प्रेमी खरबपति बेपारी डोडी अल फायदको प्रेमलाई बाहिर ल्याए । अन्ततः डायना र डोडीको भाग्दाभाग्दै सुरुङ्मा गाडी दुर्घटनामा मृत्यु भयो ।

नेपालमा अहिले तीन न तेह्रका युटुबे पत्रकारहरूले जहाँ पायो त्यहीँ र जे पायो त्यही विषयलाई उछलकुद गरेर ठूलो स्वर निकाकेर घाँटी बजाएकै भरमा गरेका पत्रकारिताले समग्र पत्रकारिता क्षेत्रकै बद्नाम हुने गरी गरिएका पत्रुकारिता या पर्चाकारिताले समग्र पत्रकारिताकै बद्नाम भएको छ । यु ट्युबमा समेत वार्ता, खोज, फिचर र समाचारहरू रोचक र राम्रा नभएका होइनन् । तर समग्र यु ट्युबरहरूको नाम र कामलाई केही पेनिटेटेड यु ट्युबरहरूले गर्दा भए गरेको इज्जत माटोमा मिलाउने काम गरेका छन् । जसको अन्त्य हुनै पर्छ । केही दिनअघि सुर्खेतमा राउटे युवतीमाथि भएको दुव्र्यवहार त्यसैको गन्धा उदाहरण हो ।

अन्त्यमा, अहिले पत्रकारिताको बाढी आएको छ । बाढीमा हिलो, फोहोर, घैमल र पानी सबै हुन्छ । तर जब नदी सङ्लिन्छ अनि सबै सबैले आफ्नो बाटो तय गर्छन् भनेझैँ अझै केही समयपछि मात्र हाम्रो पत्रकारिता आफैँ शुद्ध हुन्छ । त्यसपछि भाग लाग्छ कि पत्रकारिता कुन हो ? पर्चाकारिता के हो र पार्टीकारिता कस्तो हो ? अहिलेलाई सोही दिनको प्रतीक्षा गरौं ।

प्रतिक्रिया दिनुहोस्