६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


कोठामा राति आगो बाल्दा, हिटर ताप्दा यी कुरामा ध्यान दिनोस् !


0
Shares

प्रज्ञा तिमल्सिना र राममान डंगोल (इमेज)

काठमाडौं, पुस २ । जाडोयाम सुरु भएसँगै मानिस न्यानोको खोजीमा लाग्छन् । चिसोबाट बच्न विभिन्न उपायसमेत अपनाउने गर्छन् ।

तर, त्यही उपाय कहिले–काँही मृत्युको कारणसमेत बन्नसक्छ भन्नेतर्फ भने धेरैको ध्यान गएको पाइँदैन ।

गत साता देशैभर पानी परेपछि चिसो ह्वात्तै बढेको छ । चिसोबाट बच्न आगो बाल्ने, कोइला, ब्रिकेट, ग्यास हिटर, विद्युत्बाट चल्ने हिटरहरु ताप्ने गरिन्छ ।

तर, जाडोबाट बच्न अपनाइने यस्ता उपायहरु कहिले–काँही मानिसको मृत्युको कारणसमेत बन्नसक्नेमा भने धेरै मानिस सचेत छैनन्  ।

गत मंसिर २९ गते कीर्तिपुरमा राति कोठामा मकलमा आगो बालेर सुत्दा दुईमहिने शिशु र आमाको मृत्यु भयो ।

जाडोबाट बच्न मकलमा आगो बालेर सुतेकी ३२ वर्षीया शर्मिला रञ्जितकार र उनको दुईमहिने शिशुको सुतेकै अवस्थामा ज्यान गयो ।

यो त प्रतिनिधि घटनामात्र हो । चिसो छल्ने नाममा अपनाइने यस्ता विधिले वर्षेनि धेरैको ज्यान जाने गरेको छ ।

घरका सबै झ्याल–ढोका बन्द गरेर आगो वा हिटर बालेर सुत्दा कोठामा अक्सिजनको मात्रा नपुगेर मृत्यु हुने गर्दछ ।

आगोको धुवाँ वा हिटरले कार्बनमनोअक्साइड ग्यासको मात्रा बढ्ने हुँदा शरीरमा अक्सिजन नपुगेर मृत्यु हुने गरेको छातीरोग विशेषज्ञ डा. पंकज पन्त बताउँछन् ।

हेमोग्लोबिनको सहयोगमा शरीरका प्रत्येक कोषमा अक्सिजन पुग्ने गर्छ । तर, लामो समय कोठामा अक्सिजन ‘पास’ हुन पाएन भने कार्बनमनोअक्साइड ग्यासको मात्रा बढ्छ । जुन ग्यासलाई हेमोग्लोबिनले २३० गुणा बढी तान्छ र शरीरका प्रत्येक कोषमा कार्बनमनोअक्साइड ग्यासको मात्रा बढेर तुरन्तै बेहोस हुने र मुटुको चाल बढी मृत्यु हुने गरेको डा. पन्तले बताए ।

रातको समयमा आगो बाल्दा, हिटर ताप्दा कोठा खुला राख्ने, भेन्टिलेटर  खुला राख्ने, कोठा तातिसकेपछि आगो वा हिटर निभाएरमात्र सुत्ने गर्दा यस्ता समस्याबाट बच्न सकिन्छ ।

भिडियो हेर्नुहोस्