काठमाडौं, भदौ १९ । नेकपा (एमाले)का उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरताको मौका छोपेर एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले यस्तो बताउनुभएको हो । एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारीयो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको उहाँको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घर घरमा पु¥याउन लागेको उहाँको भनाइ छ ।
एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्त अनुरुप नभएको उहाँको भनाइ छ । एमसीसीको कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने उहाँको तर्क छ ।
प्रधानमन्त्री देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनि सुचना गरेको भन्ने आरोप लगाउँदै उहाँले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा आफूलाई पक्राउ गर्न चुनौती दिनुभयो ।
सरकार गठन भएको ५० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन नसक्नु वर्तमान सरकारको अयोग्यता र भागबन्डाको राजनीतिको विकृतिको नमुना भएको उहाँको भनाइ छ ।
अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेर भारतीय हेलिकप्टर दार्चुलामा उडिरहेको विषयमा सरकार मौन बसेको रावलको आरोप छ । राष्ट्रको सार्वभौमसत्ता, क्षेत्रिय अखण्डतामाथि भारतले धावा बोल्दापनि सरकार चुप लागको भन्दै उहाँले वर्तमान सरकारलाई एक मिनेट पनि कुर्सिमा बस्ने अधिकार नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्